१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कांग्रेस नेता बाँस्तोलाको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०७५, आईतवार ०६:३४

काठमाडौं । कांग्रेस वरिष्ठ नेता चक्रप्रसाद बाँस्तोलाको आज साँझ अन्त्येष्टि गरिने भएको छ । गएराति ललितपुरस्थित निवासमा निधन भएका बाँस्तोलाको आज पशुपति आर्यघाटमा साँझ अन्त्येष्टि गर्न लागिएको हो । त्यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रिय कार्यालय सानेपा ललितपुरमा राखिने भएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बाँस्तोलाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे एकबजेदेखि चार बसेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कांग्रेसले जनाएको छ ।

बाँस्तोलाको निधनमा श्रद्धाञ्जली ब्यक्त गर्न कांग्रेस केन्द्रिय समितिको आकस्मिक बैठक पनि दिउसो दुई बजेका लागि बोलाइएको छ । बैठकले श्रद्धाञ्जलीका कार्यक्रम सार्वजनिक गर्ने बताइएको छ । बाँस्तोलको शनिबार राति ९ बजेर २० मिनेटमा निधन भएको थियो । दुई हजार ६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा सहभागी हुने क्रममा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्कघात भएको थियो ।

भारतको सिलिगुडी, नयाँदिल्लीको मेदान्त अस्पताल र बाँसबारीको न्युरो अस्पताल हुँदै पछिल्ला दिनमा घरमै उपचारमा राखिएको थियो । त्यतिबेलैदेखि उनी अर्धचेत अवस्थामा थिए । तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बाँस्तोलाले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

बिपी कोइरालाको प्रेरणाले दुई हजार सत्र सालबाट राजनीतिमा होमिएका बाँस्तोला दुई हजार तीस सालको चर्चित विमान अपहरण प्रकरणका सदस्य थिए ।बाँस्तोला भारतका लागि पूर्व राजदूत हुन् । बिाँस्तोला कांग्रेसभित्रका सीमित बौद्धिक नेता मानिन्छन् ।