१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरी भित्र ‘सेटिङ’, प्रहरी नै प्रहरीको निगरानीमा

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०७५, आईतवार १४:३०

काठमाडौं । प्रहरीभित्रै नै आर्थिक चलखेल बढ्न थालेको भन्दै प्रहरी अधिकारीहरु चिन्तित भएका छन् । सर्वसाधारणको सुरक्षा र अपराधीमाथि निगरानी गर्ने प्रहरी अधिकारीहरु आफ्नै प्रहरी अधिकारीहरुमाथि नै निगरानी राख्न थालेका छन् । आर्थिक सेटिङमा प्रहरी अधिकारीहरु नै संलग्न रहेको देखिएपछि यस आर्थिक वर्षमा मात्रै तीन सयभन्दा बढी प्रहरी कारवाहीमा परेका छन् ।

त्यसैगरी विभिन्न अपराधमा संलग्न भएको भन्दै आधा दर्जन प्रहरीका उच्च अधिकारी कारवाहीमा परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले अहिले लेनदेन गर्ने प्रहरीको निगरानी गर्न छुट्टै टोली गठन गर्नुपरेको छ । टोलीले लेनदेन गर्ने, सेवाग्राहीलाई दुःख दिने प्रहरीमाथि गोप्य अनुसन्धान तथा निगरानी गर्ने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाले बताएका छन् । ‘यो प्रहरीले प्रहरीमाथि नै गर्ने अनुसन्धान हो’ उनले भने ‘कसैले आर्थिक चलखेल गरी कुनै काम गरेको भए हामी कारबाही गर्छौँ ।’

परिसरले अहिले कमलपोखरी, थानकोट, साँखुलगायतका वृत्तका प्रहरीमाथि अनुसन्धान गरिरहेको छ । एसएसपी लामाले १२ जनाभन्दा बढी प्रहरीहरूमाथि लेनदेनको विषयमा अनुसन्धान भइरहेको बताए । ‘प्रहरीभित्र लेनदेनको कुरा सुनिरहेको छु । आजबाट सुन्न नपरोस्’ प्रहरीले आर्थिक लेनदेन गरिरहेको सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही दिनअघि आफू मातहतका कर्मचारीलाई चेतावनी दिएका थिए, ‘अब म सहन सक्दिनँ ।’

केही दिनअघि महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्याम राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । उनले थपे, ‘पैसा कमाउने भए संगठन छोडेर गए हुन्छ । विदेश गए हुन्छ वा व्यापार गर्दा हुन्छ ।’

अख्तियारको टोलीले चार साताभित्रै एक प्रहरी नायव उपरीक्षक (डिएसपी)सहित १० जना प्रहरीलाई घुससहित पक्राउ गरिसकेको छ । गत भदौ ३० गते अख्तियारले एकै दिन नौ जना प्रहरीलाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको थियो । मनहरा खोलाको बालुवा निकाल्नको लागि ठेकेदारहरूसँग घुस लिइरहेको अवस्थामा दुई जना असई, तीन जना हवल्दार र चार जना जवानलाई पक्राउ गरिएको थियो ।

निर्मला प्रकरणले प्रहरीप्रति विश्वास गुम्दै गएको बेला घुसमा समेत प्रहरी मुछिँदा यसअघि जुनियर तहमा रहँदा मिडियामा सेलिब्रिटी छवि बनाएका प्रहरी प्रमुख तनाबमा छन् । त्यसमाथि काठमाडौँका वृत्तहरुको प्रमुख हुन पनि डिएसपीहरुले ठूलै लगानी गरेर आउँछन् भन्ने आरोप छँदैछ ।

महानिरीक्षक खनालले ब्रिफिङमा थपे, ‘एक वर्षलाई वृत्त प्रमुख भएँ भनेर ढुक्क भएर नबस्नुस्, तपाईँको क्षमता र काम देखिएन भने एक वर्ष त के ३–४ महिनामा नै फेरिदिन्छु । चाँडै केही वृत्तका प्रमुख फेरिँदै छन् । नागरिक मैत्री भएर काम गर्नुभयो भने एक वर्ष होइन १४–१८ महिनासम्म लम्बिन सक्छ ।’ एक हप्ताअघि मात्रै बौद्ध, थानकोट र सातदोबाटो वृत्तका डिएसपी फेरिएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मेवारी अहिले एसएसपी वसन्त लामाले सम्हालेका छन् । महानिरीक्षक खनालको ब्रिफ्रिङ लगत्तै एसएसपी लामाले आफ्ना केही वृत्त प्रमुखलाई त्यही ब्रिफ्रिङ स्थलको एउटा कुनामा डाके । उनले पनि महानिरीक्षककै शैलीमा सम्झाएको एक प्रहरीले जानकारी दिए ।

भदौमा लामा काठमाडौँ प्रहरी प्रमुख भएर आएलगत्तै यहाँका प्रहरीहरुको आर्थिक लेनदेन सतहमा आएको हो । आफ्नो नेतृत्वमा रहेका प्रहरीहरुले लेनदेन गरेको खुल्न थालेपछि अहिले उनी कर्मचारीको शुद्धिकरण भन्दै प्रहरीको छड्के जाँच गरिरहेका छन् ।