६ बैशाख २०८१, बिहीबार
Follow Us

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय यस्ता छन्

नेपालब्रिटेन संवाददाता
२८ आश्विन २०७५, आईतवार १४:३३

काठमाडौं । सरकारले लोकसेवा आयोगलाई दुई महिना कर्मचारी छनोटको विज्ञापन नखोल्न आग्रह गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगलाई आउँदो मंसिरअघि विज्ञापन नखोल्न आग्रह गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

सरकारले नेपालको हालको शैक्षिक जनशक्तिको अवस्थाको अध्ययन गरी आगामी दिनमा कस्ता जनशक्ति आवश्यक पर्छन् भन्ने विषयमा विस्तृत अध्ययन गरी सुझाव दिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा निर्देशक समिति गठन गरेको छ ।

उक्त समितिले नेपालको इन्जिनियरिङ, चिकित्सा, वाणिज्यलगायत कुन क्षेत्रमा कति शैक्षिक जनशक्ति रहेको छ र देशलाई कस्ता जनशक्ति आवश्यक पर्छ भन्ने विषयमा विस्तृत सुझाव दिने मन्त्री ज्ञवालीले बताए । यस समितिले ६ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय दिइएको छ ।

सरकारले नेपालको आफ्नै व्यवस्थापनमा निर्माणाधीन जनकपुर–जयनगर–कुर्था रेल–वे सञ्चालनको निम्ति आवश्यक कानुनी र अन्य संरचना निर्माण गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले निर्माणको अन्तिम चरणमा पुगेको रेल–वे सेवामा नेपालको झण्डा राखिने समेत निर्णय गरेको छ ।

यस्तै, सरकारले मेडिकल शिक्षामा यस वर्ष शुल्क वृद्धि गर्न नपाइने निर्णय पनि गरेको छ । विगतमा मेडिकल शिक्षाको शुल्क निर्धारण गर्न गठित कार्यदलले तोकेको शुल्क भन्दा बढी लिन नपाइने निर्णय गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

जमलमा रहेको जनप्रशासन क्याम्पस (परीक्षा नियन्त्रण कार्यालय बसेको ठाउँमा) राष्ट्रिय पुस्तकालयलाई स्थानान्तरण गर्ने र त्यहाँ अत्याधुनिक भवन सहित राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय गरेको छ ।

चिकित्सा शिक्षाको सन्दर्भमा विगत कार्यदलले निर्णय गरे अनुसार यो वर्षको शुल्क पहिले निर्णय अनुसार गर्ने (अहिले बढाउन नपाइने, यथावत गर्ने, आगामी वर्षहरुका निम्ति निर्णयहरु हुने) मेडिकल शिक्षाको शुल्कलाई यथावत् राख्ने निर्णय गरेको छ ।