१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपालमा गैँडाको शिकार शुन्य हुनु उदाहरणीयः वेलायती विदेशमन्त्री

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७५, सोमबार १७:२०

लण्डन । वेलायत सरकारको आयोजनामा लण्डनमा बन्यजन्तुको अवैध व्यापार निराकरण सम्बन्धी द्धिदिवसीय सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधको रुपमा लिई यसको नियन्त्रणको लागि सरकार र सबै सरोकारवाला निकायहरुबीच साझेदारी र सहयोग अभिवृद्धि लक्ष्य निर्दिष्ट २० वुदेँ विश्व घोषणापत्र जारी गरेको नेपाली दूतावास लण्डनले जनाएको छ ।
गत विहीवार देखी शुरु भएको दुई दिने सो सम्मेलनमा नेपाली उच्चस्तरिय प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले वन्यजन्तुको अवैध व्यापारलाई निरुत्साहन र नियन्त्रण गर्न नेपाल सरकारले लिएका नीति तथा कार्यक्रमबारे प्रकाश पारेका थिए ।
उनले विगत ९ वर्षको अवधिमा नेपालमा बाघको संख्या दोव्वर नजिक भएको उल्लेख गर्दै नेपालको कुल भूभागको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्र रहेको र वन्यजन्तुको शिकारमा पूर्ण प्रतिवन्ध लगाईएको जानकारी सम्मेलनमा दिए ।
उनले नेपाल सरकारले वन, वातावरण तथा वन्यजन्तुको संरक्षणमा समुदायको सहभागितामा जोड दिन नीति अवलम्बन गरेको वताउँदै वन्यजन्तुको संख्या वृद्धि र सुरक्षामा नेपाल सरकार प्रतिवद्ध रहेको जनाए ।

सम्मेलन उद्घाटन सत्रमा वोल्दै वेलायती विदेश मन्त्री जेरेमी हन्टले नेपालमा सन् २००९ देखि हालसम्मको स्थितिमा बाघको संख्या दोव्वर वृद्धि भएको र विगत चारवर्षदेखि गैँडा र वाघको शिकार शुन्य रहेकोले यस्तो उदाहरणीय कार्यको अन्य देशहरुले पनि अनुसरण गर्नुपर्ने विचार व्यक्त गरे ।
सोही अवसरमा मन्त्री बस्नेतसंग वेलायती सांसद जोन मान र श्रीलंकाको प्रतिनिधि मण्डलका नेता सन्डिथ समरसिङ्गेले शिष्टाचार भेट गरे ।

८० देशका सरकारी र निजी क्षेत्रका प्रतिनिधिमण्डलले भाग लिएको यस विश्व सम्मेलनमा बस्नेतको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, नेसनल पार्क र वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मान बहादुर खड्का, राजदूतावासका काउन्सेलर शरदराज आरण र चितवन नेशनल पार्कका उपसचिव श्री वेद कुमार ढकाल सहभागी थिए ।