१४ बैशाख २०८१, शुक्रबार
Follow Us

रजनी गुरुङ बनिन् यूके डान्स अफ २०१८ को विजेता (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२९ आश्विन २०७५, सोमबार २१:५७

लण्डन । बेलायतमा चर्चित नृत्य प्रतियोगिता यूके डान्स अफको तेस्रो संस्करण रजनी गुरुङले जितेकी छन् । सपन इन्टरटेनमेन्ट यूकेको आयोजनामा आइतबार अल्डरसटको प्रिन्सेस हलमा सम्पन्न प्रतियोगिताको फाइनलमा सहभागी १२ प्रतियोगीहरुमध्ये सर्वोत्कृष्ट बन्दै रजनी यूके डान्स अफ २०१८ को विजेता बनेकी हुन् ।

प्रतियोगितामा बेनुका लिम्बू पहिलो रनर अप र सिर्जना रायमाझी दोस्रो रनर अप बन्न सफल भए । विजेतालाई नगद १२ सय पाउण्ड तथा पहिलो र दोस्रो रनर अपलाई क्रमशः ८ सय र ५ सय पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरियो । विजेता रजनीले पब्लिक च्वाईस क्याटेगोरी समेत सर्वाधिक मत प्राप्त गर्दै जितेकी थिइन् ।

प्रतियोगिता सुरु हुनुअघि तेस्रो यूके डान्स अफ प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, यूके डान्स अफका प्रमुख सल्लाहकार सुर्य गुरुङ, कानुनी सल्लाहकार राजु थापा, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, तमु धी यूके अध्यक्ष ज्ञाम गुरुङ, बिजिडब्लुएस अध्यक्ष मे टिकेन्द्र दल देवान, कार्यक्रमका मुख्य प्रायोजकहरु कमल गुरुङ र पुनम गुरुङ, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपांगी मगर लगायतले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगितामा निर्णायकको भुमिका नायिका मिरुना मगर, पहिलो यूके डान्स अफ विजेता जेनी सुनुवार र पर्छ प्रोडक्सनका समिर गुरुङले निभाएका थिए । कार्यक्रममा सेलिब्रेटी निर्णायकको रुपमा भने पहिलो नेपाल आइडल बुद्ध लामा थिए ।

यसअघि भिडियो अडिसनबाट छानिएका उत्कृष्ट १२ प्रतियोगीहरुले फाइनलमा मौका पाएका थिए । अनलाइनबाट प्राप्त भिडियोहरु हेरेर निर्णायकहरु दिलिप रायमाझी, कविराज गहतराज र रेनेसा वान्तवा राईले फाइनल प्रतियोगीहरु चयन गरेका थिए ।


प्रमुख अतिथि राजदूत डा सुवेदी र मुख्य प्रायोजक तथा एनआरएन यूके उपाध्यक्ष पुनम गुरुङले शुभकामना मन्तव्य राख्दै कार्यक्रमको सफलताको कामना गरेका थिए ।आयोजकका तर्फबाट सपन इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक मञ्जु गुरुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् ।

कार्यक्रमको अन्त्यमा प्रतियोगिता सफल बनाउने सम्पुर्ण सहभागी, सहयोगी तथा प्रयोजकहरुलाई सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राईले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संयोजन नेशा गुरुङले गरेकी थिइन् भने सञ्चालन सुर्जे गुरुङ र विनोद रोक्काले गरेका थिए । यूके डान्स अफको मुख्य संयोजक नेशा गुरुङ हुन् ।

कार्यक्रममा सेलिब्रिटी निर्णायकको रुपमा सहभागी पहिलो नेपाल आइडल बुद्ध लामाले विशेष सांगीतिक प्रस्तुति दिएका थिए । उनले विभिन्न चरणमा गरी झण्डै १ दर्जन गीतहरु प्रस्तुत गरेर प्रतियोगितामा सांगीतिक माहोल थपिदिएका थिए । बुद्धसंगै नेपालबाट आएकी उनकी दिदी तथा गायिका आंचल लामा र यतिबेला बेलायतमै रहेकी अर्की गायिका रुबी गौलीले समेत गीतहरु प्रस्तुत गरेका थिए ।


Pic: HAB