६ चैत्र २०८०, मंगलवार
Follow Us

शिक्षाविद् दाहालको अमेरिकामा निधन

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७५, मंगलवार १९:१९

काठमाडौँ । शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ ।

एक कार्यक्रमका लागि अमेरिका जानुभएका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा निधन भएको उहाँको परिवारले जनाएको छ । काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रमा विद्यावारिधि गरी शिक्षामा समाजवादी दृष्टिकोण र सुशासनका लागि वकालत गर्दै आउनुभएका उहाँ हाल त्यहाँ अध्यापनसमेत गर्नुहुन्थ्यो ।

निधनको कारणबारे त्यहाँ थप अध्ययन भइरहेको आज उहाँको परिवारलाई भेट्न पुगेर फर्कनुभएका सो विश्वविद्यालयका शिक्षा सङ्कायका डीन डा महेशनाथ पराजुलीले जानकारी दिनुभयो । रामेछापको साँघुटारमा जन्मनुभएका उहाँले यसअघि नेपालका लागि रोयल नर्वेजियन राजदूतावासमा सुशासन सल्लाहकार, नेपालका लागि फिनल्याण्ड दूतावासमा कार्यक्रम संयोजक, सेभ द चिल्ड्रेनमा कार्यक्रम निर्देशक र नेपाल रेडक्रसमा कार्यक्रम संयोजक रही काम गर्नुभएको थियो ।

राति होटलमा सुतेको अवस्थामा निधन भएको र उहाँको नाकबाट रगत बगेको पाइएपछि उहाँलाई हृदयाघात भएको अनुमान गरिएको छ । निधनबारे चिकित्सकीय अध्ययन प्रक्रिया पूरा भएपछि उहाँको शव अन्त्येष्टिका लागि नेपाल ल्याइनेछ । उहाँका श्रीमती र तीन छोरा छन् ।