१५ चैत्र २०८०, बिहीबार
Follow Us

दर्शकलाई पेट मिचीमिची हँसाए शैलेन्द्र सिंखडाले (भिडियो)

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७५, मंगलवार १९:४१

लण्डन ।
नेप्लीज ब्रिटिश कम्युनिटी युकेले लण्डनमा आयोजना गरेको दशैं शुभकामना साँझमा चर्चित कलाकार शैलेन्द्र सिंखडाले दर्शकहरुलाई पेट मिचीमिची हँसाएका छन्।

आइतबार बेलुका ह्यारो फुटबल क्लबमा आयोजित कार्यक्रममा सिंखडाले नेपालको वर्तमान अवस्था, नेताहरुको पदलोलुपता, कलाकारहरुको आडम्बर र खादा र आसनग्रहणमा रमाउने एनआरएनको प्रवृत्तिप्रति पनि कसिलो व्यंग्यप्रहार गरेका थिए।

गणतन्त्र नेपालमा “महंगीले थिचेर खपीसक्नु छैन, कर माथि कर थोपरेर बसीसक्नु छैन”, सिंखडाले भने। उनले अख्तियारले तीस हजार घुस खाने खरदारलाई समात्ने गरेको तर १३ अर्ब खाने सरदारलाई भने छाडने गरेको भन्दै व्यंग्य पनि गरेका थिए।

नेपालमा झोले, खोले र नबोले गरी तीन थरी जनता रहेकेा भन्दै उनले देश र समाजमा रहेका विकृति, विसंगति विरुद्ध सबै जनता बोल्नुपर्ने सन्देश पनि दिएका थिए।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले कलाकार शैलेन्द्र सिंखडासंग आफ्नो ३० वर्ष पुरानो मित्रता रहेको बताउँदै उनी हास्यव्यंग्य क्षेत्रमा झन् माथि माथि चढीरहेको बताए। उनले सिंखडा जस्तो कलाकार नेपाली भएर बाँच्न सिकाउने संसारकै लागि राजदूत भएको पनि बताए। उनले नेप्लीज ब्रिटिश कम्युनिटी युकेले इण्डोनेशियाका सुनामीमा बाँच्न सफल समुदायकालागि सहयोग संकलन गरेर विश्ववन्धुत्वको उदाहरण प्रस्तुत गरेको भन्दै त्यसको प्रशंसा गरे।

कार्यक्रममा राजदूत सुवेदीले जीसीएसइ र ए लेभल पुरा गरेका नेपाली छात्रछात्राहरुलाई प्रमाणपत्र पनि प्रदान गरेका थिए।

समारोहमा एनआरएन युकेका अध्यक्ष योग फगामी, एनबीसी युकेका पूर्व संयोजक कमल खनाल तथा काउन्सिलर ग्राहम हेन्सनले शुभकामना दिएका थिए भने नेप्लीज ब्रिटिश कम्युनिटी युकेको भाषा साहित्य विभागका प्रमुख बसन्त नेपालले सबैलाई स्वागत गरेका थिए। कार्यक्रममा रीमा भण्डारी, प्रतिष्ठा त्रिपाठी, सृजना कोइराला, रश्मीता दर्लामी लगायतका कलाकारहरुले रमाइला नृत्यहरु प्रस्तुत गरेका थिए।

नेप्लीज ब्रिटिश कम्युनिटी युकेका अध्यक्ष मिलन घिमिरेको अध्यक्षतामा संपन्न कार्यक्रमको सन्चालन सचिव चुरामणि रेग्मीले रोचक ढंगले गरेका थिए। कार्यक्रममा रात्री भोजको व्यवस्था पनि गरिएको थियो।