६ चैत्र २०८०, मंगलवार
Follow Us

ऐतिहासिक मन्दिर पुनःनिर्माण

नेपालब्रिटेन डट कम्
३१ आश्विन २०७५, बुधबार ०८:०३

म्याग्दी । एक व्यक्तिको निजी लगानीमा जलजला गाउँपालिका–३ स्थित ऐतिहासिक मल्लाज कोत भगवती मन्दिरको पुनःनिर्माण भएको छ । काठमाडाँैको ताहचलका शिवकुमार श्रेष्ठले दिवङ्गत बुवा बाबुलाल र आमा बालकुमारी श्रेष्ठको स्मृतिमा मन्दिर पुननिर्माण गर्नुभएको हो ।

श्रेष्ठको रु ३६ लाख सहयोगमा बाइसे चौबिसे राज्यका पालामा निर्मित ऐतिहासिक मन्दिरको पुनःनिर्माण गरिएको मल्लाज कोत पूजा व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर जिसीले जानकारी दिनुभयो । आफ्नो जन्मथलोको ऐतिहासिक, धार्मिकस्थल जीर्ण बनेपछि स्थानीयवासीले गरेको अनुरोधअनुसार पुनःनिर्माणमा सहयोग गरेको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले मन्दिर पुनःनिर्माणका लागि विसं २०७२ मा सञ्चालन भएको महायज्ञमा सहयोगको घोषणा गर्नुभएको थियो । महायज्ञबाट सङ्कलित रकमबाट रु एक करोड ४० लाखको लागतमा मन्दिर परिसरमा पूजास्थल, भवन निर्माण र कोत परिसरको खेलमैदान विस्तार गरी प्याराफिट बनाइएको छ । मन्दिरको प्रवेशद्वार नजीकै एक जोडी बाघको शालिक बनाइएको मल्लाज भगवती कोत मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष टेकबहादुर जिसीले बताउनुभयो ।

करीब ५०० वर्ष पुरानो कोत मन्दिर बाइसे चौबीसे राज्यका पालामा तत्कालीन मल्लाज राज्यका राजाले पूजाआजाका लागि निर्माण गरेका थिए । कोत मन्दिरको जीर्णोद्धार गरी नयाँ संरचना निर्माण भएपछि पूजा व्यवस्थापनमा सहज हुनुका साथै मन्दिरको धार्मिक पर्यटन प्रर्वद्धनमा सहयोग मिलेको वडाध्यक्ष रवि भण्डारीले बताउनुभयो ।

दिवङ्गत बुबाको स्मृतिमा विद्यालय निर्माणमा सहयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाँका एक व्यक्तिले दिवङ्गत बुबाको स्मृतिमा विद्यालय भवन निर्माणमा सहयोग गरेका छन् । काफलडाँडा घर भई हाल बेलायतमा बस्दै आउनुभएका गीरबहादुर गर्बुजाको आर्थिक सहयोगमा काफलडाँडा आधारभूत विद्यालयको कक्षा कोठा भवन निर्माण हुनलागेको हो ।

दिवङ्गत बुबाको स्मृतिमा जिबी फाउण्डेशन स्थापना गरेर विदेशी दातामार्फत सहयोग गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गर्बुजाले बताउनुभयो । अध्यक्ष गर्बुजाका अनुसार दुई तले पाँच कोठे भवन निर्माणका लागि रु ५० देखि ५५ लाख खर्च हुने अनुमान गरिएको छ । भवन निर्माणका लागि आवश्यक सबै खर्च गर्बुजाले फाउण्डेशनमार्फत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको अध्यक्ष गर्बुजाले बताउनुभयो ।

भवन निर्माणको काम ८० प्रतिशत सकिएको छ । वैशाख ५ गतेदेखि शुरु भएको भवन आगामी माघसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा ७६ विद्यार्थी छन् ।