१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जिसीको हत्यारालाई पोर्तुगलमा १६ वर्ष जेल सजाय

नेपालब्रिटेन डट कम्
३१ आश्विन २०७५, बुधबार ०९:१०

योगेन्द्रमिलन छन्त्याल । लिस्बन । पोर्तुगलमा एक नेपालीलाई १६ वर्षको जेल सजाय तोकिएको छ । मङ्गलबार क्याम्पु जुस्टिका ओरियन्टले यस्तो फैसला सुनाएको हो ।

गत वर्ष सेप्टेम्बर १२ तारिखका दिन पर्वत मल्लाजका हरिबहादुर जिसीको हत्यामा संलग्न धादिङका अर्जुन सापकोटाविरुद्ध यस्तो फैसला भएको छ । सापकोटाले जीसीलाई राजधानी लिस्बनस्थित क्याम्पु पेकिनो मेट्रो स्टेशन नजिकैको खुला सडकमा छुरा हानी हत्या गरेका थिए । हरिबहादुर जीसीका भाइ ओम जिसीमाथि पनि सापकोटाले आक्रमण गरेका थिए ।

हत्यापछि फरार सापकोटालाई केही दिनभित्रै नेपालीहरुले समातेर प्रहरीलाई बुझाएका थिए । अदालतद्वारा उपलब्ध गराइएको फैसलामा हरिको योजनावद्ध हत्या गरेकोमा १३ वर्ष र ओमकोसमेत हत्या गर्ने प्रयास गरेकोमा थप तीन वर्ष गरी कुल १६ वर्षको सजाय तोकिएको उल्लेख छ ।

गत एकमहिनादेखि लगातारको बहसपछि साक्षी प्रमाणका आधारमा यस्तो निर्णय लिएको सङ्लग्न एक अधिवक्ताले बताए । मुद्धामाथिको बहसमा हिमाल घिमिरे र रुद्रप्रसाद सुवेदीले दोभाषेको भूमिका निभाएको स्रोतले उल्लेख गरेको छ ।