६ चैत्र २०८०, मंगलवार
Follow Us

बेलायतमा पहिलो पल्ट “मोहनि” पर्व मनाइयो

नेपालब्रिटेन डट कम्
३१ आश्विन २०७५, बुधबार ०९:५५

लण्डन ।

१८ वर्ष अघि बेलायतमा सबैभन्दा पहिले नेवार समुदायको महत्वपूर्ण चाड म्ह-पूजा मनाउने पासा पुच: गुथि युके लण्डनले यस वर्ष फेरि पनि एउटा नयाँ ईतिहास रच्न सफल भएको छ। गत हफ्ताको शनिवार अाश्विन २७ गतेका दिन लण्डनमा छरिएर रहेका ७० भन्दा बढि संस्कृतिप्रेमी नेपालीहरूका माँझ गुथिले पहिलो पटक मोहनी नख: मनाएको छ।

दशैं पर्वको अवधिमा नेवार समुदायमा मनाइने मोहनि नख:को विशिष्ट स्थान रहँदै अएको छ। नेपालीहरूको बाक्लो बसोबास रहेको लण्डनको अल्पर्टन शहरमा आयोजित सो कार्यक्रममा गुथिका सह-अध्यक्षद्वय श्रीमती मेनका श्रेष्ठ र श्रीमती रुक्मणी मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। २ वर्षको बालक देखि ७० वर्षीया वृद्धा समेतको उपस्थिति रहेको सो कार्यक्रममा सह-सचीव अनिल महर्जनले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो भने महासचीव सन्दीप श्रेष्ठ रखेलकूद सचीव सुमीत बज्राचार्यले नेपालभाषा र खसभाषा नेपालीमा गीत-संगीतले मनोरंजन गर्नुभएको थियो।

गुथिका अध्यक्ष श्री संयुक्त श्रेष्ठले बेलायतका नेपाली घरपरिवारमा हुर्किरहेका बालबालिकाहरूले आफ्नो संस्कृतिका बारे ज्ञान पाउनुपर्ने उल्लेख गर्दै यसै सन्दर्भमा सुरजबीर बज्राचार्यद्वारा रचित् “धाल: जित: नेवा:” गीत गाएर पनि सुनाउनु भयो। कार्यक्रममा सहभागीहरूले पातको लपतय् मा नेवा: भोजको अानन्द लिएका थिए भने लण्डन स्थित ‘म:म: एण्ड रोटी’ ब्राण्डका बिनोद बराल र नरेश शर्माको सह-आयोजनामा विभिन्न परिकारहरूको तयारी गरिएको थियो। सो कार्यक्रमको व्यापक सफलता पछि यही आउँदो नोवेम्बरको १३ तारीख आइतबारका दिन गुथिले अर्को महत्वपूर्ण चाड म्ह-पूजाको आयोजना लण्डनको ओकिंगटन म्यानर स्कुल, वेम्ब्लीमा करीब ३०० जनाको उपस्थितिमा गर्ने भएको छ।