६ चैत्र २०८०, मंगलवार
Follow Us

‘झोले पत्रकार सम्मेलन’

नेपालब्रिटेन डट कम्
३१ आश्विन २०७५, बुधबार १८:१७


चिरन शर्मा ।
लन्डन । यसै वर्ष सामाजिक सञ्जाल अनलाइन प्रोटल सगुनले बेलायतको अल्डरशटमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सगुनले गैरआवासीय नेपाली संघ बेलायतको सकृयतामा निर्माण हुने नेपाल घरका लागि एक लाख बराबरको शेयरको हिस्सेदार बनाउने जानकारी दिनका लागि पत्रकारलाई आमन्त्रण गरेको थियो । त्यस कार्यक्रम आयोजक संस्था सगुन भए पनि समन्वयनकर्ता र आयोजक गैरआवासीय नेपाली संघ बेलायत थियो ।

साँझ ६ बजे सुरु हुने भनिएको पत्रकार सम्मेलनका लागि आएका अतिथि तथा पत्रकारका लागि राति करिब ९ बजे खानाको व्यवस्था गरियो । लन्डनदेखि करिब एक घन्टा टाढा पुगेका सञ्चारकर्मी पत्रकार सम्मेलनको सुरु नभइ हिड्ने कुरा भएन । डिनर खाएर मात्र पत्रकार हिडे भन्ने अर्को आरोप लाग्ला भन्ने डर । पत्रकार सम्मेलनमा मान्यजनदेखि लन्डनस्थित नेपाली राजदुतावासका प्रवक्ता शरदराज आरणसमेत उपस्थित थिए । अबेर राति सकियो पत्रकार सम्मेलन ।

करिब ५ घण्टा समय बेथित गर्दा प्राप्त गरेको सुचना भने सगुनले एक लाखको शेयर एनआरएन भवनलाई दिने भन्ने दुई लाइनको समाचार भन्दा अरु केही बनेन । पत्रकार सम्मेलनको मूल कुरा त्यतिमै सीमित भयो । त्यत्तिका लागि आधा रातमा घर पुग्न बाध्य भए पत्रकारहरु । यस्तो बेलायतमा मात्रै होइन, अमेरिका, युरोपदेखि नेपालसम्म देख्न पाइन्छ । जहाँ नेपाली त्यहाँ पत्रकारका लागि यस्ता कार्यक्रम आयोजना गर्ने धेरथोर खानपानमा रमाउने र आयोजकले आफ्नो उद्देश्य पत्रिकामा विज्ञापन गराउने चलन संस्थागत हुँदै गएको छ ।

अझ भनौ कतिपय अवस्थामा आफ्नो पकेटको पत्रकार मात्रै डाकेर सकारात्मक गुणगान गाउने मात्रै बोलाउने जस्ता काम परम्पराको थालनी भएको छ । यसमा आयोजकको मात्र दोष छैन, हामी जस्ता पत्रकारको पनि उत्तिकै दोष छ ।

यस्ता दृष्य हप्तैपिच्छे देख्न पाइन्छ विदेशमा । पत्रकार सम्मेलन के हो र यसको सञ्चालन विधि कस्तो हुनुपर्छ भन्ने समान्य ज्ञानसमेत नहुँदा पत्रकार सम्मेलनको समेत अर्नथ लाग्ने गरेको छ ।

जुलाईको तेस्रो सातामा गैरआवासीय नेपाली संघ युकेको आयोजनामा भएको एक कार्यक्रमका अतिथि नायक राजेश हमाल र पत्रकार दिलभुषण पाठक थिए । आयोजक मध्येका एक ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा डिनर खाँदै थिए । पत्रकारको अर्को टोली त्यहीस्थित अर्को रेष्टुरेन्टमा खाजा खाँदै थिए । आयोजक र पत्रकारको जम्का भेट भयो । झोलामा क्यामेरा बोकेर खाना पुगेका पत्रकारले दुई चारवटा फोटो खिच्न भ्याए । भोलिपल्ट मिडियामा समाचार बन्यो फलानो रेष्टुरेन्टमा आयोजित पत्रकार सम्मेलन भन्दै समाचार बने । अन्य पत्रकार बेखर थिए । पत्रकार सम्मेलन भएको पत्तो समाचारबाटै थाहा पाए । यसबाट के बुझ्न गाह्रो छैन भने पत्रकार पनि कयौ पटक पत्रकार सम्मेलनका नाममा थुप्रै पटक नाटक मन्चन गरेर चुकेका छन् ।

पत्रकार सम्मेलन सामान्यतय बढीका एक घन्टाभित्र सकिन्छ । आयोजक संस्थाले विशेष सुचना प्रवाह गर्नको लागि पत्रकार सम्मेलन गर्दछन् । न की कुनै संस्थाको ऐतिहासको फेहरिस्त सुनाउन वा भाषण र आसनको लागि गरिदैन । पत्रकार सम्मेलनको मुख्य उद्देश्य के हो भन्ने बारेमा सामान्य प्रेश नोट वा विज्ञप्ति अनिवार्य रुपमा पत्रकारलाई उपलब्धि गराइनु पर्छ ।

आयोजकको तर्फबाट प्रमुख व्यक्तिमध्ये एक वा दुई जनाले पत्रकार सम्मेलन आयोजना गर्नुको प्रमुख उद्देश्य र विषय बस्तुमा आफ्ना भनाइ राखिन्छ । पत्रकारको तर्फबाट कुनै थप जानकारी आवश्यक परेमा सोध्ने चलन अन्तर्राष्ट्रिय मान्यता र प्राक्टिस हो । त्यसबाट पत्रकारले समाचार बनाउनका लागि नबुझेको कुरा सोध्नका लागि प्रश्न उत्तर कार्यक्रम राखिन्छ ताकी समाचार बनाउँदा गलत सन्देश नजाओस । तर हाम्रो समाजमा त्यसको ठीक उल्टो हुन्छ । यहाँ पत्रकारलाई लामा भाषण सुनाएर संस्थाको पुरै इतिहास पढाएर उल्टै पाठ पढाएर पठाउने चलन छ । पत्रकार सम्मेलन विषेश उदेश्यको लागि गरिने भएको हुदाँ अन्य विषयमा छलफल आवश्यक देखिएमा जानकारी सभा वा अन्तरक्रिया भनेर सबैलाई समावेश गर्न सकिन्छ । रहर वा देखासिकीको लागि पत्रकार सम्मेलन गर्नु उपयुक्त हुदैन् ।

तत्कालीन परराष्ट्र तथा उप्रधानमन्त्री कमल थापा बेलायत भ्रमणमा थिए । नेपाल पत्रकार महासंघ बेलायतले पत्रकार भेटघाटको आयोजना गरेको थियो । पत्रकार सम्मेलनको मुख्य उद्देश्य थियो, मन्त्री थापाको ३ दिने बेलायत भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाटका बारेमा जानकारी गराउने । मिडियासँग राम्रैसँग खेल्न माहिर थापाले आफ्नो भनाइ प्रष्ट राखेर ब्रिफिङ सके । ढिलै गरी पुगेका पत्रकारहरुले थापाले के बोले भन्दा पनि आज परराष्ट्रमन्त्रीलाई यो प्रश्न गर्छु भनेर मनमा रोचेर आएका प्रश्न बर्बाउन थाले । प्रश्न पत्रकार सम्मेलनको मुख्य उद्देश्य विपरित र अनपेक्षित थिए । थापाले यो कुरा थाहा पाएपछि आफैले पत्रकार सम्मेलन छोटाए । पत्रकारको व्यवसायिकता त्यहाँ पनि देखिएको थिएन ।

मिडिया फ्रेन्डली आयोजक छन् भने पत्रकारको उपस्थिति र स्तर हेरेर आउँन सक्ने प्रश्नको सम्भाव्यता पहिले नै थाहा पाउँछन् । बोल्ने क्रममा विषयबस्तु सबै समेटेर बोल्ने गर्दछन् । यस्तो व्यक्तिमध्ये चर्चित हास्यँ कलाकार हरिवंश आचार्य निकै पोख्त मानिन्छ । पत्रकार सम्मेलनको महौला बुझेर मदनकृष्ण श्रेष्ठले समेत उत्तर दिन नपर्ने गरी उत्तर समेटेका हुन्छ । धेरै पत्रकारले त्यसको चालसमेत पाएका हुदैनन् ।

पत्रकारको मुख्य ध्येय भनेको नयाँ विषय बस्तुमा कुनै न कुनै समाचार लेख्न लायक सुचना प्राप्त गरौं भन्ने हुन्छ । तर बेलायतमा आयोजना हुने पत्रकार सम्मेलनमा आयोजकले कुनै न कुनै हिसाव जस्तै खादामाला, लन्च वा डिनरले खुशी पारेर आफ्नो ध्येय पुरा गर्नेतिर लाग्छ ।

व्यवसायिक पत्रकारका लागि अमुल्य चिज भनेको दरिलो र भरपर्दो सुचना हो । खादामाल, आसन भाषणा भन्दा समाचार लेख्न लायकको सुचना पत्रकारको लागि ठूलो सम्मान हो । त्यसैले विदेशमा आयोजना हुने पत्रकार सम्मेलन खुशी मुलक बनाउनु भन्दा सुचना मुलक बनाउनु उचित हुन्छ ।

पत्रकार सम्मेलनलाई मर्यादित बनाउन आयोजकको मात्र होइन् पत्रकारको समेत उत्तिकै भुमिका हुन्छ । कथित पत्रकार सम्मेलन हो वा साच्चिकै सुचना आउन लायक पत्रकार सम्मेलन हो भन्ने विषय बस्तु बुझ्नु उत्तिकै जरुरी छ ।  खाना खुवाएर आफ्नो स्तुतिगान गाउन प्रेरित गर्ने र पत्रकार पनि त्यसैको पछि लाग्नु गैरव्यवसायिक चरित्र हो । समाजले त्यसरी नै बुझेको हुन्छ । त्यस्तो पत्रकार सम्मेलनको समाचारले पत्रिकाको पेट भर्दैन ।

बेलायतस्थित विभिन्न संघसंस्था मध्ये तमुधीं युकेले बिभिन्न सन्दर्भमा आयोजना गर्ने पत्रकार सम्मेलनलाई व्यवसायिक र सूचनामुलक बनाउने प्रयास गरेको देखिन्छ । तर सुरु हुने समय, संस्था निकट पत्रकारको आगमनलगायत बीच–बीचमा संस्थाका नेताको भाषणलगायतका विषयले पत्रकार सम्मेलन धेरै पटक फितलो देखियो । गैरआवासीय नेपाली संघ युकेको आयोजनामा हुने अधिकांस पत्रकार सम्मेलन हास्यापद र लज्जास्पद हुने गरेका छन् ।

पत्रकार सम्मेलन कस्तो हुने भन्ने विषयमा बेलायतस्थित नेपाली समाज मात्र अनविज्ञ होइन, अन्य देशमा पनि उत्तिकै समस्या छ । अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाइटका नेपाली भट्टीमा आयोजना हुने पत्रकार सम्मेलनको प्रकृति पनि उस्तै देखिन्थ्यो । नेपाल प्रहरीको प्रमुख भएपछि त्यहाँ पुगेका प्रहरी प्रमुख सर्वेन्द्र खनाल पत्रकार सम्मेलनमा उपस्थित थिए । मिडियासँग राम्रो हिमचिम पाएका खनालले सम्भावित प्रश्नको उत्तर आफ्नो मन्तव्यको क्रममा दिइसकेका थिए । त्यहाँ उपस्थित पत्रकारले ह्याउनै पाएनन् । मनमा पूर्व सेटिङमा आधारित प्रश्न थिए । खनालको सम्बोधन सुन्दै न नसुनी फेरि प्रश्न तर्साए ।

जति पत्रकार सम्मेलन पेचिलो बन्दै जान्छ, त्यतिनै सुचनाको प्राप्त हुने सम्भवना रहन्छ । पत्रकार सम्मेलनमा आयोजक र पत्रकारबीचको चर्को टकरावले मात्र बिषय बस्तुमा पुग्न सकिन्छ ।

एकजान नामै चलेका पत्रकारले गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त अमेरिका पुग्दा ८ मिनेट लामो प्रश्न सोध्न भ्याए । तर, पन्तले दुई मिनेटमै उनको प्रश्नलाई समान्य पारे । विदेशमा सकृय पत्रकारले खोजमुलक लेख रचना भन्दा पनि सजिलो पत्रकारिता अन्तरर्वार्ता ठान्छन् । ठुलो नाम चलेको व्यक्ति वा सेलिब्रेटी आयो भन्दैमा विषय बस्तु नमिलेसम्म अन्तरर्वार्ता गरिहाल्नु पर्छ भन्ने छैन् ।

उद्यमीहरुले आयोजना गर्ने कर्पोरेट पत्रकार सम्मेलन यस सन्दर्भमा मेल नखान सक्छ । आफ्ना उत्पादन सार्वजनिक गर्न आयोजना गरिने कर्पोरेट पत्रकार सम्मेलनमा खानपिन र उपहार सामान्य मानिन्छ ।

व्यक्तिगत सम्वन्धका आधारमा अनगिन्ती सुचना प्राप्त गर्न सकिन्छ जो पत्रकार सम्मेलनबाट पाउन सकिन्न् । गैरआवासीय नेपाली संघको १५ वर्षे अभियानमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष शेष घलेलगायत देशका कयौं बरिष्ठ नेताहरुसँग पटकपटक संगत गर्ने अवसर मिल्यो । तर, विषय बस्तु र सन्दर्भ नमिलेका कारण अन्तरर्वार्ता गर्न अवसर अझै मिलेको छैन् ।

पूर्वअध्यक्ष जीवा लामिछानेसँग मात्र उनको सर्सति संसार किताव विषयमा अन्तरर्वार्ता गर्ने अवसर मिल्यो । तर एनआरएनएको विषयमा अन्तरवार्ता गर्ने रहर अझै अधुरो छ । यी दृष्टान्त यहाँ प्रस्तुत गर्नुको ध्येय पत्रकारिता भनेको अन्तरवार्ता त्यही पनि फेसबुके कदापी होइन् भन्ने हो । अहिले डायसपोरामा देखिएको पत्रकारिता हेर्दा कयौं स्थानमा प्रष्ट देख्न र बुझ्न सकिन्छ कि के पत्रकारिता गर्न कुनै योग्यता चाहिदैन वा यो नेपालका राजनीति गरे जस्तै फेसबुक टाइमलाइनमार्फत जो छिरे पनि हुने पेशा हो भन्ने भान हुन्छ ।

(यो व्लग कुनै व्यक्ति वा संस्था लक्षित होइन् । विगत केही समय देखी विदेशमा रहेका नेपाली मिडियामा भएका बिकृति विरुद्ध चलेको अभियानप्रति ऐक्यबद्धता मात्र हो)

 twitter  @chiranuk