६ चैत्र २०८०, मंगलवार
Follow Us

दशैँमा इटालियन स्याउको बजार

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७५, बिहीबार ०५:१२

जुम्ला । दशैँका लागि इटालियन फुजी जातको स्याउको बिक्री बढेको छ ।
चन्दननाथ नगगरपालिका–१० का टंक देवकोटाले बगैँचामै सो स्याउ किन्न आउनेलाई प्रतिकेजी रु १५० मा बेच्ने गरेको बताउनुभयो । दशैँसम्म जुम्लाको स्याउ निर्यात भइसक्ने भएकाले यो स्याउको माग दशैँमा बढेको उहाँको अनुभव छ ।

पातारासी गाउँपालिका बाता गाउँकी शर्मिला महतारा स्याउको ग्रेडिङ, प्याकेजिङ र लेवलिङ गर्न व्यस्त रहेको बताउनुभयो । बगैँचामा गोल्डेन र रेड डेलिसियस जातको स्याउ छ । पहिलोपटक स्याउको परीक्षण भएकाले स्याउको बिरुवा हेर्न र स्वाद लिनकै लागि ओहोरदोहोर निकै बढेको छ ।
चन्दननाथ भैरवनाथ गुठी संस्थानको जग्गा लिजमा लिएर इटालियन जातको स्याउका बिरुवा रोपेर उत्पादन गरिएको छ । यो स्याउमा चिनीको मात्रा धेरै भएको र आकार प्रकारले निकै राम्रो देखिने गरेको छ ।

अहिले इटालियन जातको गोल्डेनभन्दा पनि रेड डेलिसियस जातको स्याउको माग बढी छ । जुम्लामा फल्ने स्याउ न्यूनतम तीनदेखि पाँच वर्षसम्म फल दिन शुरु गर्छ, उहाँले भन्नुभयोे, “तर इटालियन फुजी जातको स्याउ लगाएको छ महीनामै फल दिन शुरु गरेको छ ।
इटालीमा उत्पादन भएको गोल्डेन र फुजी स्याउको रु दुई हजार ७०० बिरुवा जुम्लाको चन्दननाथ मन्दिरको सेरा ज्युलामा छ महीनाअघि रोपिएको थियो । ज्युलोमा रोपिएको अधिकांश बिरुवाले फल दिइसकेका छन् । सेरा ज्युलाको २० हजार वर्गमिटरमध्ये १० हजार वर्गमिटरमा जुम्ला एग्रो फर्मले एक हजार ७०० स्याउका बिरुवा रोपेको थियो ।

यस्तै हाम्रो सहकारी संस्थाले ८०० बिरुवा रोपेकोे जुम्ला एग्रो फर्मका प्रोपाइटर लोेकदर्शन श्रेष्ठले बताउनुभयो । प्रतिबिरुवाको जुम्ला ल्याउँदासम्म न्यूनतम एक हजार ४०० देखि अधिकतम एक हजार ५०० मूल्य परेको छ । दुई हजार ७०० बिरुवा रोप्नका लागि रु ४० लाख ५० हजार लगानी भइसकेको स्याउ कृषक बताउँछन् ।

इटालियन स्याउ कृषक सुशील देवकोटाले आफूले छ महीनामा फल्छ होला भनेर आफूले नसोचेको बताउनुभयो तर चाँडै फल दिन थालेपछि उत्साहित भएको उहाँको अनुभव छ ।

यो स्याउ बिरुवाको २७ वर्ष आयु हुने र चार वर्षपछि एक बोटमा ४२ किलो स्याउ फल्ने स्याउ कृषक बताउँछन् । यसअघि मनाङमा मनाङ एग्रोले रोपेर परीक्षण गरेको यो स्याउ निकै मीठो र महँगो मानिन्छ । स्थानीय स्याउको बिरुवा रोपेको तीनदेखि पाँच वर्षपछि फल्ने र धेरै दुःख गर्नुपर्ने भए पनि इटालियन स्याउको उत्पादन चाँडै हुने देखिए पछि किसानमा उत्साह पैदा भएको छ ।

स्याउ कृषक देवकोटाका अनुसार अब फुजी स्याउको बिरुवा जुम्लामै उमारेर प्रत्येक किसानको घरदैलोमा पु¥याउने लक्ष राखेका छौँं । यो स्याउ जुम्लाको स्याउजस्तो आकार प्रकार भए पनि स्वादमा बढी गुलियो पना देखिएको उहाँले बताउनुभयो । दशैँ अवधिभर रु एक लाखको इटालियन स्याउ बिक्री भएको कृषक देवकोटाले बताउनुभयो ।