११ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतमा बस्ने सुर्खेतीले गरे मिर्गौला पीडितलाई ५ लाख सहयोग

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७५, सोमबार २१:४८

सुर्खेत — मिर्गौला पीडित एक व्यक्तिको लागि बेलायतमा बस्ने सुर्खेतीले चार लाख ७५ हजार रुपैयाँ संकलन गरेका छन् । दुईवटै मिर्गौला फेल भएका वीरेन्द्रनगर-५ चिसापानी निवासी ३१ वर्षीय दलबहादुर रानामगरको लागि बेलायतमा बस्ने एक सय १७ जना नेपालीले उक्त रकम संकलन गरी पठाएका हुन् ।

लण्डनमा बस्ने दिलबहादुर जिसी, खगिसरा थापा र टोपबहादुर थापाको पहलमा संकलित रकम जिसीले सोमबार उनको घरमै पुगेर हस्तान्तरण गरे ।

‘चिनेजानेको युवा अप्ठेरोमा परेको थाहा पाएपछि हामीले आर्थिक संकलन अभियान गरेका हौं,’ जिसीले भने,‘हामी जहाँ बसे पनि मन त नेपाली नै हो, सहयोग गर्न पाउँदा खुसी छौं ।’

सुर्खेतका साथै दैलेखलगायत क्षेत्रका बेलायतमा बस्ने नेपालीले रानामगरको लागि सहयोग गरेका उनले बताए ।

सशस्त्र प्रहरी जवानमा कार्यरत रानामगरको गत वैशाखमा दुईवटै मिर्गौला फेल भएको थाहा भएको थियो । ५६ वर्षीया आमा पबित्रा रानामगर छोराको लागि एउटा मिर्गौला दिन तयार भए पनि आर्थिक अभावमा प्रत्यारोपण प्रक्रिया सुरु हुन सकेको छैन ।

‘अहिलेसम्म विभाग (सशस्त्र प्रहरी बल)बाट सहयोग पाइएको छैन,’उनले भने,‘देश विदेशमा रहनु भएका सहयोगीले भने मलाई बचाउन रकम जुटाइरहनु भएको छ ।’

उनको लागि सुर्खेतमा बस्ने स्थानीयले पनि सहयोग संकलन अभियान थालेका छन् । अभियानकर्ता लक्ष्मण मस्र्याङीले हालसम्म ६ लाख ९० हजार रुपैयाँ संकलन भएको जानकारी दिए ।