१२ बैशाख २०८१, बुधबार
Follow Us

विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदै

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७३, सोमबार ०६:५५

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले संबिधान चुनेको आज एक बर्ष पुगेको हो । दुई हजार ७२ असोज ३ गते संबिधान जारी भएको अबसरमा आज बिबिध कार्यक्रम हुँदैछन । सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्च अधिकारी एवम् यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधि सहभागि भएका छन् । दिवस मनाउन सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा विशेष समिति गठन गरेको छ । दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । नेपालको लिखित संविधानमध्ये यो सातौँ संविधान हो । यसअघिका सबै संविधान आयोग वा विभिन्न रुपमा निर्माण भएको भए पनि नेपाली जनताका प्रतिनिधिमार्फत जारी भएको संविधान नै यो पहिलो हो । नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता रहेका छन । तर संबिधानमा आदिवासी जनजाति र मधेसी समुदायलेसमानुपातिक र समावेशीका मुद्दा उठाएर आन्दोलन गरिरहेका छन् । सोही विषयलाई लिएर सरकारले पुनः अर्को संशोधनको तयारी गरेको छ ।

राष्ट्रपति शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले देशवासीको नाममा सन्देश दिँदै नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन असोज ३ गते स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेकी छिन् । यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, न्यायपूर्ण, सन्तुलित र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत र बहुआयामिक विकासका लागि अघि बढ्न थप प्रेरणा दिनेपनि राष्ट्रपतिको बिश्वास छ । यसैगरी विभिन्न राजनीतिक दलका नेता पनि दिवसका अबसरमा शुभकामना दिएका छन् ।

ओबामा
अमेरिकी राष्ट्रपति बाराक ओबामाले संविधान दिवसका अवसरमा बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएर ओवामाले शुभकामना दिएका हुन् । बधाइ सन्दशेमा ओवामाले असोज ३ मा संविधान दिवस मनाउँदै गर्दा तपाईं र नेपाली जनतालाई बधाई ज्ञापन गर्न पाएकोमा खुसी लागेको उल्लेख गरेका छन् । पत्रमा उनले विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको र त्यस विपतमा आफ्ना प्रियजन गुमाएका परिवारको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेको पनि उल्लेख गरेका छन् ।