१३ बैशाख २०८१, बिहीबार
Follow Us

सिन्धुलीगढी पुनर्निर्माण गुरुयोजना हस्तान्तरण

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७५, बुधबार १९:३७

विगतमा गैरआवासीय नेपाली संघ र कमलामाई नगरपालिका वीच सिन्धुलीगढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा भएको सहमति अनुसार तयार पारिएको गुरु योजना आज मिति २०७५ कार्तिक ७ तद् अनुसार २४ अक्टोवर २०१८ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले एक समारोह वीच कमलामाई नगरपालिकाका मेयर श्री खड्ग बहादुरा खत्रीलाई हस्तान्तरण गर्नु भयो ।

गुरु योजना सबै सम्बन्धित पक्षसंग छलफल गरी तिनको सहभागितामा तयार पारिएको हो । गुरु योजनाको स्वामित्व स्थानीय सरकारले लिने सहमति भएको थियो । हाल जिर्ण अवस्थामा रहेको सिन्धुली गढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचनाहरु पुनर्स्थापना गर्ने उद्देश्यले गुरु योजना तयार पारिएको छ ।

गुरुयोजनामा सिन्धुली गढीको ऐतिहासिकता र मौलिकतालाई यथावत राख्ने गरी संरचनाहरु निर्माण गर्ने उल्लेख छ । गुरुयोजना तयार पार्ने क्रममा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघबीच निरन्तर समन्वय भएको र गुरुयोजना निर्माण गर्नको लागि गैरआवासीय नेपाली संघले आवश्यक पर्ने परामर्शदाता चयन गरी यस कार्यमा लाग्ने खर्चको व्यवस्थापन गरेको छ । गुरुयोजना आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्टको संयुक्त टोलीले तयार पारेको हो र यस टोलीको नेतृत्व आर्किटेक्ट डा. सञ्जय उप्रेतिले गर्नु भएको छ ।


कमलामाईका नगर प्रमुखले गुरुयोजना तयार पार्न सहयोग गरेकोमा गैरआवासीय नेपाल संघ प्रति हार्दिक आभार प्रकट गर्दै भविष्यमा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघ वीच समन्वय र सहयोग भईरहनु पर्ने र गुरुयोजना कार्यान्वयनमा पनि मिलेर काम गर्नु पर्ने धारणा राख्नु भयो । यसरी नै सिन्धुली जिल्लाका सहभागी प्रतिनिधिहरुले सिन्धुगढीलाई नेपालको नमूना पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि सहयोग गर्न अपिल गर्नु भयो ।

संघका अध्यक्ष भवन भट्टले गुरुयोजना तयार गर्न सहयोग गर्न पाएकोमा कमलामाई नगरपालिकालाई हार्दिक धन्यवाद व्यक्त गर्दै सिन्धुली गढीलाई एक पर्यटकीय स्थलको रुपमा विकासका लागि सहयोग गर्न संघ सदैव तत्पर रहेको बताउनु भयो । उहाँले गुरुयोजना तयार पार्ने कार्य गर्न आर्किटाइप र कार्डकन्स्ल्ट्याण्ट र यस कामको नेतृत्व गर्ने संघका सचिव डिबि क्षेत्रीलाई धन्यवाद प्रकट गर्नु भयो ।

यसरी नै संघका सचिव डिबि क्षेत्रीले यस गुरुयोजना तयार गर्न आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्नु भयो । साथै कमलामाई नगरपालिका, सिन्धुली जिल्लाका जनप्रतिनिधिहरु, विभन्न राजनैतिक दलहरु, स्थानिय बासिन्दा, गुरुयोजना तयार पार्ने आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्ट, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, राष्ट्रिय समन्वय परिषद, गैरआवासीय नेपालीहरु, र संचारकर्मीहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भयो ।

यस कार्यक्रममा कमलामाइ नगरपालिकाका मेयरका साथै सिन्धुली जिल्लाका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरु सहभागिता रहेको थियो ।