१३ बैशाख २०८१, बिहीबार
Follow Us

पद्मश्री साहित्य पुरस्कार प्रदान

नेपालब्रिटेन डट कम्
७ कार्तिक २०७५, बुधबार १९:५६

काठमाडौं- खेमलाल– पद्मश्री साहित्य पुरस्कार र पद्यमश्री साधना सम्मान २०७४ एक समारोहबीच दुई स्रष्टालाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारबाट नयनराज पाण्डे र पद्यमश्री साधना सम्मानबाट डा.तारानाथ शर्मा सम्मानित भएका हुन्। साहित्यकार पाण्डेको संस्मरणात्मक कृति ‘यार’ को लागि उक्त पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै शर्माले पाठकहरुको असीम स्नेहले नै आफु यस उमेरमा पनि साहित्य सिर्जनामा अगाडि बढिरहन सकेको बताए। ‘उमेरले ८० काटेपछि आलस्यले सताउने रहेछ र रचनाकारितामा चाख घट्दै जाने रहेछ, तर सहृदयी पाठकहरुको प्रेरणाले भने झन्झन् प्रोत्साहित, कार्यशील र स्नेहार्द बनाउँदै रचनाकारितातर्फ आकृष्ट गर्दै साहित्यिक रचनामा निरन्तर प्राञ्जताल र प्रज्जवलता दिएर लेखकलाई अघि बढाउने रहेछ’, शर्माले भने।

सम्मानित अर्का स्रष्टा पाण्डेले आफुलाई लेखन र सिर्जनाभन्दा सुन्दर कर्म अरु हुन्छ भन्ने नलागेको बताए। उनले अक्षर र शब्दहरु श्वेत पानाहरु भर्ने मौन धर्सा नभइ हाम्रो समाजका सुख, दु:ख, पीडा, घृणा, दिक्दारी, जुगुप्सा, आक्रोस र गुनासाहरु अभिव्यक्त गर्ने सजीव र सार्थक ध्वनि भएको बताए।

समारोहमा बोल्दै प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले राजनीति र समाजको गतिभन्दा साहित्य र कलाको गति तिब्र हुने बताए। साहित्य र कलाले समाज र राजनीतिलाई पनि डोहोर्याउने क्षमता राख्ने उनको भनाई थियो।

पद्यमश्री साहित्य पुरस्कार वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये उत्कृष्ठ एकलाई र ‘पद्यमश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गरी विशिष्ट योग्दान दिने व्यक्तिलाई प्रदान गर्ने गरिन्छ।