८ बैशाख २०८१, शनिबार
Follow Us

नेविसंघमा अध्यक्षको प्रत्यासी मै हुँ

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०७५, शुक्रबार ०६:१३

कल्पना खड्का, केन्द्रीय सदस्य नेविसंघ

नेपाली कांगे्रसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) यतिबेला चर्चामा छ । ३२ वर्षे उमेरहदका कारण नेविसंघ चर्चामा आएको हो । निर्णय त भयो, तर कार्यान्वयन कति चुनौतीपूर्ण छ भन्ने कुरा यसका विरुद्धमा उठेको आवाजले पुष्टि गर्छ । नेविसंघको महाधिवेशनको सेरोफेरोमा रहेर केन्द्रीय सदस्य कल्पना खड्कासँग कुमार राउतले गरेको कुराकानी ः

० नेविसंघ यतिबेला चर्चामा छ नि ?
– हो, नेपाल विद्यार्थी संघको विधान संशोधन भएको छ । संशोधित विधानमा ३२ वर्षे उमेर हदबन्दी लगाइएको छ । हुन त यो नयाँ कुरा होइन, ११ औं महाधिवेशनमै चर्चा आएको विषय हो । ११ औं महाधिवेशनअघि नियमित महाधिवेशन नभएकाले एकपटकलाई ३२ वर्षे उमेर हदबन्दी नलगाऔं भन्ने सहमति भएको थियो ।

० अहिले चाहिँ किन बढी होहल्ला ?
– त्यस्तो ठूलो होहल्ला भएजस्तो मलाई लाग्दैन । पार्टीले विधान अनुमोदन गरिसकेको छ । उमेर हदबन्दीले धेरै साथीहरू विद्यार्थी राजनीतिबाट वञ्चित हुनुपर्ने भएकाले गुनासो गरेका होलान् ।

० सधैं विद्यार्थी भएर राजनीति गर्नु ?
– नेताको घर धाउने, कलेज भर्ना हुने, सधैं राजधानीमै रमाउने नेविसंघको कल्चरजस्तै बनेको थियो । विद्यार्थी नेता बनेर चन्दा उठाउने, विद्यार्थी भर्नामा कमिसन लिन बानी परेकालाई अब उमेर हदबन्दीले नियन्त्रण गर्छ ।

० तपाईं पनि त्यसमै पर्नु हुन्छ र ?
– ०६२–०६३ को आन्दोलनपछि मात्र म विद्यार्थी राजनीतिमा सक्रिय भएको हुँ । म नेविसंघ रुँगेर बसेकी विद्यार्थी होइन । नियमित पढेर मास्टर्स सके, प्राइभेटबाट अर्को विषयमा पनि मास्टर्स गरें ।

० तपाईंहरूको कमिटीले नाटक मात्र देखायो नि ?
– नाटक देखाएको छैन, योजनाअनुसार काम गर्न नसकेको चाहिँ पक्कै हो । लामो अन्तरालपछि नेविसंघको अधिवेशन भयो, धेरै समस्या थिए, ती समस्या समाधान गरेर नयाँ समितिलाई मार्गप्रशस्त गरिदिएको भए नैनसिंह महर कमिटी सफल हुन्थ्यो ।

० काम गर्न कसले रोक्यो ?
– नेविसंघमा टिकिरहनुपर्छ भन्ने मान्यता राख्ने व्यक्तिहरूले संगठन गिजोल्न खोजे । उनीहरूले अध्यक्षलाई असहयोग गरे, जसले गर्दा कामभन्दा पनि विवाद बढी भयो । निर्वाचित भइसकेको अध्यक्षलाई काम गर्न दिइनुपथ्र्यो ।

० किन यस्तो हुन्छ ?
– पार्टी स्कुलिङ ठीक भएन । विद्यार्थीका नाममा अमूक व्यक्तिलाई प्रतिनिधि बनाएर संगठनमा नेता बनाइएकाले समस्या उत्पन्न भएको हो । उनीहरूले अध्यक्षको अस्तित्वभन्दा पार्टी नेताको आदेश उनीहरूका लागि सर्वपरी ठाने । अर्थात् नेतामुखी हुनु हाम्रो कमजोरी हो ।

० जति नेता, त्यति विद्यार्थी संगठन छ होइन ?
– त्यस्तो त होइन होला, तर नेताको घर धाउने, पदमा टिकिरहने र त्यसको आवरणमा चन्दा आतंक मच्चाउने विद्यार्थी नेताको कमी छैन ।

० कस्तो हुनुपथ्र्यो ?
– राजनीति र पार्टीको सिद्धान्त बुझेको नेता आउनुपर्छ । विद्यार्थीका नाममा बाहिरका मान्छे आउनु हुँदैन । ३२ वर्ष उमेरहदले यो बेथिति केही हदसम्म नियन्त्रण हुन्छ भन्ने आशा गर्न सकिन्छ ।

० ३२ वर्षे निर्णय कार्यान्वयन होला ?
– पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको हो । केही शीर्ष नेताहरूले निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्नु भयो भन्ने कुरा समाचारमा मैले पनि पढें । बहुमतले गरेको निर्णय कार्यान्वयन हुन्छ भन्ने लाग्छ ।

० यो निर्णय कार्यान्वय भए के हुन्छ ?
– वास्तविक विद्यार्थी राजनीतिमा आउँछन्, तिनीहरू कांगे्रसको भविष्य बन्न सक्छन् । जिल्ला नजाने, नेताको वरिपरी बसेर विद्यार्थीका नाममा राजनीति गर्नेहरू निरुत्साही हुन्छन् ।

० कार्यान्वयन गर्न अवरोध गरे ?
– त्यो भनेको नेविसंघको अधिवेशन हुन नदिने षड्यन्त्र हो । अधिवेशन हुन नदिनु भनेको पार्टीलाई हस्तक्षेप गर्न बाध्य पारिनु हो । नेविसंघको अधिवेशन नचाहनेले मात्र यो निर्णयको विरोध गर्छ ।

० निर्णयको विरोध गर्नेलाई के भन्नुहुन्छ ?
– त्यही विधान टेकेर चुनाव लडेको व्यक्तिले आफू अनुकूल निर्णय भएन भन्दैमा संगठन नै प्रभावित पार्नु हुँदैन । निष्ठाको राजनीति गर्नेहरूका लागि यो सुहाउँदो विषय होइन ।

० अधिवेशन नगराउँदा फाइदा हुँदो रहेछन नि ?
– भागबन्डामा नेतृत्व पाइहालिन्छ भन्ने, चन्दा आतंक मच्चाउने, नेताको वरिपरि घुम्ने र जिल्ला गइरहनु नपर्ने एकथरिका विद्यार्थी नेतालाई फाइदै पुग्छ ।

० तपाईं कुन समूहको ?
– म समूहको होइन, संगठनभित्रको विकृति र विसंगतिविरुद्ध आवाज उठाउने, संगठनले आफ्नो आदर्श नबिर्सियोस् भन्ने मेरो चाहना हो ।

० चुनाव जित्न नेताको आशीर्वादबिना सम्भव छ ?
– यस्तो मान्यताको म विरोधी हुँ, यद्यपि म समावेशी कोटाबाट निर्विरोध भएकी हुँ । शारीरिक अपांगता भएको हुनाले म समावेशीमा परें, तर अहिले पछुतो छ, खुल्लाबाट प्रतिस्पर्धा गर्नुपर्ने रहेछ भन्ने लागिरहेको छ ।

० कति भो राजनीति सुरु गरेको ?
– पद्मकन्या क्याम्पसमा अध्ययनपछि नेविसंघको राजनीतिमा छु । रामेछाप खिम्तीकी हुँ, सामन्ती कम्युनिस्टविरुद्ध कांगे्रस राजनीतिमा होमिएकी हुँ । मेरा अभिभावक विशुद्ध किसान हुनुहुन्छ ।

० कसरी अपांगता भयो ?
– ११ वर्षको उमेरमा मिलमा परेर मेरो हात काट्नु प¥यो ।

० अरु संघसंगठनमा पनि हुनुहुन्छ होला नि ?
– अपांगताको क्षेत्रमा पनि संलग्न छु । युनेस्कोको केन्द्रीय सदस्य छु । विभिन्न सामाजिक र शैक्षिक संघसंस्थामा आबद्ध भएर काम गरिरहेको छु ।

० गैरसरकारी संस्थामा संलग्न हुनुहुन्न ?
– हाम्रो आवाज हामीले नै उठाउने हो । कुनै गैरसरकारी संस्थाले उठाउने होइन । त्यसका लागि निर्णय तहमा हामी पुग्नैपर्छ । त्यो निर्णय तहमा पुग्न राजनीतिक लडाइँबाट मात्र सम्भव छ ।

० कांगे्रस राजनीतिबाट सम्भव छ ?
– अपांगता भएका व्यक्तिहरूको आवाज पनि हामीले नै उठाइदिनुपर्छ भन्ने कसैलाई लाग्दो हो, तर त्यो सोच पुरानो हो । सिद्धान्ततः कांगे्रसमा सबै किसिमको मान्छे अटाएका छन् । र, अपांगताको क्षेत्रमा आवाज उठाउन हामी सक्षम छौं ।

० विवाह गर्नुभयो ?
– त्यतातिर सोचेकी छैन, नेविसंघमा अध्यक्षको प्रत्यासी हुँ, त्यसको तयारी गरिरहेकी छु ।

० अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?
– विकृति र विसंगति हटाएर चुस्त र समावेशी संगठन निर्माणका लागि अध्यक्षमा उम्मेदवारी दिन्छु । नेताबाट सल्लाह सुझाव लिन सकिन्छ, तर पदका लागि नेताको घर धाउने प्रवृत्तिविरुद्ध पनि मेरो उम्मेदवारी हो ।

० केन्द्रीय सदस्यबाट एकैपटक अध्यक्ष ?
– अध्यक्षका लागि अरु पनि योग्य हुनुहुन्छ होला, म पनि अध्यक्षका लागि योग्य छु । सबै जिल्ला घुमेकी छु, सबै साथीहरूसँग सम्पर्कमा छु । विशुद्ध विद्यार्थी मात्र प्रतिनिधि बनेर आउने हो भने मलाई अध्यक्षमा निर्वाचित गरेर इतिहास बनाउने अवसर दिने छन् ।

० जित्नुहुन्छ ?
– सबै जित्नकै लागि लड्ने हो, विधानसम्मत संस्था चलाउने हो भने साथीहरूले मलाई नेतृत्वमा पु¥याउनु हुन्छ भन्ने विश्वास छ । म पनि दौडमा छु, साथीहरूले हौसला दिनुभएको छ ।

० तपाईंलाई शुभकामना ।
– धन्यवाद, तपाईंहरूलाई पनि बडा दशैं, तिहार र छठ पर्वको मंगलमय शुभकामना । तपाईंहरूकै शुभकामना र सद्भाव नेविसंघको अध्यक्ष जित्ने मेरो आधार हो ।