१५ चैत्र २०८०, बिहीबार
Follow Us

सञ्चालन भएन नेपाल–भारत पशुपतिमैत्री धर्मशाला

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०७५, शुक्रबार १३:३३

काठमाडौं । नेपाल–भारतमैत्री पशुपति धर्मशाला उद्घाटन भएको डेढ महीनासम्म पनि सञ्चालनमा आउन सकेको छैन । बिम्स्टेक सम्मेलनका अवसरमा गत भदौ १५ गते धर्मशाला उद्घाटन भएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको धर्मशाला त्यसलगत्तै सञ्चालनमा आउने भनिएको थियो ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले प्रतिवेदन दिएपछि धर्मशाला सञ्चालन हुने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । कात्तिक ११ गते आइतबारसम्म प्रतिवेदन आइपुग्ने र त्यसलगत्तै धर्मशाला सञ्चालन हुने उहाँले सुनाउनुभयो ।

तीनतारे होटलको सुविधा हुनेगरी बनाइएको धर्मशाला निर्माणका लागि भारत सरकारले रु २२ करोड सहयोग गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला निर्माणपछि नेपाल–भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सहज हुने विश्वास गरिएको छ । यसका कारण धार्मिक पर्यटन प्रवद्र्धन हुनेछ ।

तीलगङ्गा आँखा अस्पतालको दक्षिण पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीन चोक, तीन तला र ५९ कोठा छन् । चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइएको छ । धर्मशालामा एकैपटक ४०० तीर्थयात्री बस्न सक्नेछन् ।

धर्मशालाको निर्माणपछि निम्न तथा निम्न मध्यम वर्गका यात्री पनि बस्न सक्ने गरी सहुलियतको व्यवस्था गरिने कोषले जनाएको छ । हाल पशुपति दर्शनमा आउने धार्मिक पर्यटकलाई धर्मशालाको व्यवस्था नहुँदा महङ्गो होटलमा बस्न बाध्य हुने गरेका छन् ।