६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री अस्वस्थ्य : मन्त्रिपरिषद्को बैठक बालुवाटारमै

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७५, आईतवार ०८:४१

काठमाडौं । आज दिउँसो ३ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने गरेको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण प्रधानमन्त्री निवासमा सारिएको हो ।

शुक्रबारको बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक आइतबारलाई सारिएको थियो । रुघाखोकीले सताएपछि उनी शनिबार आयोजित नेकपाको चियापान कार्यक्रममा जान सकेनन् । संक्रमण बढ्ने सम्भावना भएपछि चिकित्सकले उनलाई आराम गर्न सुझाव दिएका छन् ।

मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढ्ने खतरा देखेपछि निवासमा नै आराम गर्न चिकित्सकले सुझाएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्य जाँच गर्दै आएका डा दिलिप शर्माका अनुसार चिसो बढेसँगै रुघाखोकीले प्रधानमन्त्री ओलीलाई सताएको छ । ‘भिडभाड र बढी भेटघाटमा व्यस्त हुँदा संक्रमण होला भनेर आराम गर्न भनिएको हो,’ उनले भने, ‘एक-दुई दिन आराम गरेपछि उहाँको स्वास्थ्यमा सुधार आउनेछ ।’