७ बैशाख २०८१, शुक्रबार
Follow Us

मलेसियाको रोजगारी तत्काल नखुल्ने

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०७५, आईतवार १३:३५

काठमाडौं । नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धमा सोमबार मन्त्रिस्तरीय वार्ता हुँदैछ । द्विपक्षीय वार्तामा भाग लिन मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आज राति काठमाडौं आउँदै हुनुहुन्छ ।

वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गर्नुहुनेछ । वार्तामा उहाँहरुबीच नेपालबाट मलेसियाका लागि श्रमिक आपूर्ति, आप्रवासी कामदारका हकहितका विषयमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ । त्यसपछि दुवै देशका श्रममन्त्रीले श्रमिक आपूर्ति गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

दुई सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै विगत छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने छ । नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहेपनि श्रम सम्झौता हुन सकेको थिएन । विभिन्न समयमा श्रम सम्झौताको प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकेको थिएन ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने प्रावधान समझदारीपत्रमा समेटिएको छ । अब मलेसिया जाने कामदारले कुनै शुल्क तिर्नुपर्ने छैन । रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम् लाभ प्राप्त गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर हुने श्रम मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले राससलाई जानकारी दिनुभयो ।

त्यस्तै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटोलाई पनि सम्झौताले सम्बोधन गर्नेछ । समझदारीपश्चात् नेपाली कामदारको २४ घन्टे बीमा, रोजगारदाता मुलुकमा विरामी हुँदा उपचारमा लाग्ने खर्च, बिदालगायत सेवा सुविधा सुनिश्चित हुने विश्वास लिइएको छ ।

नयाँ समझदारीअनुसार कामदारको करार अवधि दुई वर्षको हुनेछ । यसअघि तीन वर्षको करार अवधिमा नेपाली कामदार रोजगारीका लागि मलेसिया जाने गरेका थिए । मलेसियाका लागि कामदार आपूर्ति गर्दै आएका ‘मेनपावर कम्पनी’ले रोजगारदाता मुलुकका सम्बन्धित कम्पनीबाटै सेवा शुल्क पाउनेछन् ।

नेपाल सरकारले विभिन्न शीर्षकमा कामदारसँग अवैध शुल्क लिँदै आएका एजेन्सीको खारेजीसँगै छ महीनादेखि मलेसियाका लागि श्रमिक आपूर्ति ठप्प भएको थियो । छ महीनाको अवधिमा कामदार आपूर्तिलाई सहज बनाउन भन्दै दुई मुलुकका अधिकारीबीच पाँच पटकसम्म कूटनीतिकस्तरमा छलफल भएको थियो । दुई देशबीच तीन पटकसम्म श्रम समझदारीको मस्यौदा आदानप्रदान भएको थियो ।

मस्यौदालाई अन्तिम रुप दिन गत महीना नेपाली प्रतिनिधिमण्डल मलेसिया पुगेको थियो । गत असोज १२ गते मलेसियाको पुत्रजयामा नेपाली पक्ष र मलेसियाली पक्षबीच समझदारीपत्रका अन्तरवस्तुमा सहमति जुटेको थियो ।

रोजगारी खुल्न केही समय लाग्ने

दुई सरकारका उच्च अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भए पनि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्नेछ । प्राविधिक तयारी गर्नुपर्ने भएकाले तत्काल मलेसियाका लागि श्रम स्वीकृति प्रदान गर्न नसकिने प्रवक्ता रेग्मीले बताउनुभयो ।

समझदारीपछि कामदार आपूर्तिका ढाँचा तय गर्न दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोली गठन हुने विश्वास छ । सोही टोलीले कामदार छनोट, प्रवेशाज्ञा, स्वास्थ्य परीक्षणलगायत विषयमा सहजीकरण गर्नेछ ।

नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य हो । वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीमध्ये मलेसियामा करीब ३० प्रतिशत कार्यरत छन् । अझै पनि मलेसियामा करीब पाँच लाख नेपाली काम गरिरहेका छन्, जसमा सबैभन्दा बढी सुरक्षा गार्ड छन् ।
–अशोक घिमिरे