१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वेलायतमा १०९ औं महाकवि देवकोटा जयन्ती तथा पुस्तक बिमोचन

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७५, सोमबार ०९:३३

लण्डन । वेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके को आयोजनामा १०९औ महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती बिभिन्न कार्यक्रमकासाथ उत्साहवर्धकरुपमा मनाइयो ।

समारोहमा निर्मल कुमार थापा द्वारा लिखित एकालाप कथा संग्रह पुस्तक लोकार्पण प्रमुख अतिथि नेपाली राजदूताबासका तृतीय सचिब भुपेन्द्र घिमिरे,अध्यक्ष कोमल मल्ल डा.राघब प्रसाद धिताल “ओबिई ” निर्मल कुमार थापा,नेपाली साहित्य विकास परिषदका निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली द्वारा सामुहिकरूपमा गरिएको थियो

स्थानिय वेष्ट लण्डन स्थित ए बी आई कलेज एक्टनमा आयोजित समारोहलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि नेपाली राजदूताबासका तृतीय सचिब भुपेन्द्र घिमिरेले साहित्यिक सिर्जनात्मक क्षमता र कृतिहरूको आधारमा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्थान विश्व स्तरका विशिष्ठ साहित्यकारहरूकै पंक्तिमा रहेकोछ भनेर गर्वकासाथ भन्न सक्दछौ भन्नु भयो । महाकवि देवकोटाको बारेमा चर्चा गर्नु हुदै निबर्तमान अध्यक्ष द्वय खगेन्द्र नेपाली तथा हरिसिह थापा ले देवकोटा सरल दानि र असिमित प्रतिभाका धनी थिए भन्नु भयो । अध्यक्ष द्वयले नेपाली साहित्य विकास परिषदले महाकविको जन्मजयन्ती मनाउने लगायतका साहित्यिक गतिविधिहरू गरेर महाकवि प्रति सच्चा सम्मान पु-याएको चर्चा गर्नुभयो ।

समारोहका अर्का विशिष्ठ वक्ता परिषद्का वरिष्ठ सल्लाहकार यती संस्थाका पूर्व अध्यक्ष डा. राघव प्रसाद धिताल “ओबीई” ले महाकवि लक्ष्मीप्रसाद देवकोटा सामाजिक चिन्तनका योद्धा कवि हुन । उनको मुनामदन कृतिले नेपाली समाजमा समानता समावेसीको आवाज उसैवेला उठाएको थियो भन्नु भयो । उहाँले देवकोटा नेपाली साहित्यका प्रेरणाका श्रोत र गर्वका शिखर हुन भन्नुहुदै नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै देकोटा जयन्ती भानु जयन्ती लगायतका बिभिद साहित्यिक गतिविधिहरू गर्दै आएर वेलायतमा धेरै साहित्यकारहरू जन्माउन प्रेरणादायी र नेतृत्वदायी भूमिका खेलेको कुरा चर्चा गर्नु भयो ।

अध्यक्षको आसनबाट सम्वोधन् गर्नुहुँदै परिषदका अध्यक्ष साहित्यकार कोमल मल्लले नेपाली साहित्यलाई फराकिलो बनाउने र समाजलाई हेर्ने सोच बदल्ने महाकविका कृतिहरूले तत्कालिन अवस्थामा एउटा सामाजिक क्रान्तिको उजागर नै गरेका थिए भन्नु भयो । अध्यक्ष कोमल मल्लले लन्डनमा निर्मल कुमार थापा द्वारा लिखित एकालाप कथा संग्रह कृति आज विमोचन गर्न पाउँदा परिषदलाई गर्व लागेको चर्चा गर्नु भयो ।

यस अघि समारोहमा परिषद्का वरिष्ठ सहअध्यक्ष कवि ध्रुब केसि बाट स्वागत मन्तव्य र महासचिव बिरेन्द्र कुवँरले उद्घोषण गर्नुहुँदै नेपाली साहित्य आकाशका चम्किला तारा महाकवि देवकोटाको हरेक बर्ष जन्मजयन्ती मनाएर नेपाली साहित्य विकास परिषद्ले प्रवासमा साहित्यको प्रेरणा जगाउने काम गरेको मात्र नभइ नेपाली भाषा साहित्य र राष्ट्रियतालाई समेत फैलाउने कार्य गरेकोछ भन्नु भयो । विमोचित पुस्तक र सर्जक बारे सुरेन्द्र श्रेष्ठले संक्षिप्त प्रकाश पार्नुभएको थियो ।

समारोहलाई सम्वोधन गर्नुहुदै बिशिष्ठ अतिथि विमोचित कृतिका लेखक कथाकार एवं कवि निर्मल कुमार थापाले समाजको विभिध पक्षलाई प्रस्तुत पुस्तक एकलावमा समेट्ने प्रयत्न आफूले गरेको चर्चा गर्नुहुँदै वेलायतको पुरानो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषदबाट विमोचन गर्न पाउँदा आफूलाई गर्व लागेको वताउनु भयो ।

समारोहको आरम्भमा महाकविको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरूबाट माल्यार्ण गरी श्रद्धासुमन अर्पण गरिएको थियो ।

उक्त अवसरमा कोसेलीका संस्थापक अध्यक्ष कलाकार मदन थापाले सुमधुर मंगल धुन र गीत, प्रमोद शर्माले मुना मदनको संगितवद्ध गीत मार्मिकरूपले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको दोस्रोचरणमा कविता वाचन तर्फ भाग लिने कविहरू कवियत्री हरूमा वसन्त रायक्षेत्री, खगेन्द्र नेपाली, सुमाया राई,हरिसिंह थापा,डा.सुधा श्रेष्ठ, डा.संगिता स्वेच्छा,डा.बिष्णु सिंखडा,मनोज अन्जान,सुरेन्द्र श्रेष्ठ,कवि कथाकार निर्मल कुमार थापा,कोमल मल्ल हुनु हुन्थ्यो ।

अन्तमा कार्यक्रम सफल बनाउन आर्थिक एवम् भौतिक सहयोग पु-याउनु हुने डा.राघव प्रसाद धिताल,डा.जनक कुमारी धिताल, शुरेस जंग शाह,डा.सुधा श्रेष्ठ, हरिसिंह थापा कृष्ण भट्ट, ध्रुब केसि,विरेन्द्र कुँवर,वसन्त रायक्षेत्री,कोहिनूर मल्ल तथा सहभागी सबैलाई परिषदको तर्फबाट बिषेस धन्यवाद ज्ञापन गरिएको थियो ।