१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेविसंघलाई समन्वय गर्ने खुबी मसँग छ

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०७५, सोमबार १२:५८

नीमा गिरी, नेविसंघ उपाध्यक्ष त्रिविवि कीर्तिपुर

नेपाल विद्यार्थी संघ (नेविसंघ)को अधिवेशन अन्योलमा छ । यही मध्य कात्तिकमा नेविसंघको अधिवेशन हुनुपर्ने थियो, तर त्यसको तयारी भएको छैन । यद्यपि अध्यक्ष पदका लागि नीमा गिरीले तयारी युद्धस्तरमा अघि बढाएकी छन् । दुईपटकसम्म कांगे्रस महासमिति सदस्यसमेत रहेकी गिरी नेविसंघ हाँक्न आफू सक्षम रहेको दाबी गर्छिन् । संगठनको अवस्था र आसन्न अधिवेशनबारे गिरीसँग कुमार राउतले गरेको कुराकानी :

० नेविसंघको अधिवेशन हुने वातावरण बन्दैछ ?
– छैन, केन्द्रीय समितिले कात्तिकको १६–१८ महाधिवेशनको मिति तय गरेको थियो । निर्धारित मिति आउन एक साता बाँकी रहँदा कुनै जिल्लाको अधिवेशन भएको छैन । विधान पनि फाइनल भएको छैन । अब तोकिएको मितिमा अधिवेशन हुने सम्भावना छैन ।

० विधानमा के उल्लेख छ ?
– विशेष कारणवश तीन महिना अर्थात् मंसिर २ गतेसम्म समयसीमा थप्न सक्ने व्यवस्था छ । मंसिर २ पछि विधानतः यो कार्यसमिति स्वतः खारेज हुन्छ ।

० विधान पार्टीले अड्कायो भन्न खोज्नुभएको ?
– हो, पार्टीमा एउटा समन्वय समिति छ, त्यो समिति डा.प्रकाशशरण महतको नेतृत्वमा छ । विद्यार्थीमा ३२ वर्षे उमेरहद लाग्ने भन्ने निर्णय पार्टीले ग¥यो, एउटा पक्षले त्यो निर्णयमा नोट अफ डिसेन्ट लेख्यो । बहुमतले पारित ग¥यो । देश संघीयतामा गइसकेको छ । अब संगठनको संरचना कस्तो हुने, प्रतिनिधि कसरी आउने भन्ने कुरा समेटेर फाइनल विधान आउन बाँकी छ ।

० विधानलाई विवादास्पद बनाइयो नि ?
– विधान पार्टीको बहुमतले पास गरिसकेको छ । नेविसंघको नेतृत्वमा अहिले जो हुनुहुन्छ, उसको नेतृत्वप्रति प्रश्न उठिराखेको छ ।

० कसरी  ?
– अधिवेशन हुनुभन्दा अघि जुन जिल्लामा विवाद थियो, त्यो विवाद अहिले पनि टुंगिएको छैन । अध्यक्षले आफूखुसी चिठी बाँड्ने काम गर्नुभयो । नेविसंघभित्र तीनवटा समूह छ । त्यो समूहलाई मिलाउन अध्यक्ष असफल हुनुभयो । विवाद समाधानतिर अध्यक्ष जान चाहनु भएको छैन ।

० अध्यक्ष कता जान खोज्नु भयो ?
– विवाद मिलाउन उहाँसँग क्षमता रहेनछ, अब पार्टीले के गर्छ भनेर उहाँ कुरेर बस्नुभएको छ । पार्टी पनि यो विषयमा गम्भीर देखिएन ।

० पार्टीबाट कसले जिम्मा लिनुपर्ने ?
– डा.प्रकाशशरण महतको संयोजकत्वमा एउटा समन्वय समिति छ । त्यसमा गुरुराज घिमिरे, रञ्जीत कर्ण, गगन थापा, एनपी साउद र प्रदीप पौडेल हुनुहुन्छ । पार्टीभित्रको कुरामा उहाँहरू जिम्मेवार हो ।

० यो समन्वय समिति पनि विभाजित हो ?
–  होइन, विद्यार्थीबीचमै दुईवटा समूहजस्तो देखिन्छ । एउटा ३२ माथि र अर्को ३२ मुनिको समूह । ३२ माथिको समूहले अधिवेशन होइन, अझै कार्यकाल थपेर नेतृत्व लिइराख्नुपर्छ भन्ने मान्यता राख्छ । ३२ मुनिको समूहले विधानतः जानुपर्छ भन्छ । मंसिर २ पछि यो कार्यसमिति एकदिन पनि बस्न पाउँदैन भन्ने यो समूहको भनाइ हो ।

० समन्वय समितिले कुन समूहलाई रोज्ने ?
– ३२ माथिका विद्यार्थी जनआन्दोलनमा नेताहरूसँगै ढुंगामुढा खाएको समूह हो । उनीहरूलाई पनि पार्टीले व्यवस्थापन गर्नुपर्छ । अन्य भ्रातृ समूहमा जान बाटो खोल्नु पर्छ ।

० उमेरहद ठीक हो त ?
– ठीक हो, यो क्रान्तिकारी निर्णय हो, यसको स्वागत गर्नुपर्छ । गणतन्त्र ल्याउन जसले पहल ग¥यो, उहाँहरू ३२ माथिका हुनुहुन्छ । उहाँहरूलाई बाइपास गर्न मिल्दैन ।

० अहिलेको विवाद चाहिँ ३२ माथिकाले आफू एडजस्ट हुनलाई बार्गेनिङ गरेका हुन् त ?
– सम्भवतः त्यो पनि हुनसक्छ । उहाँहरू सबै कुरा त्यागेर राजनीतिमा हुनुहुन्छ । उहाँहरूलाई पनि पार्टीले व्यवस्थापन गर्नुपर्छ । ३२ माथिका धेरै दाइदिदीहरू विद्यार्थीभन्दा बाहिर गइसक्नुभएको छ । नेविसंघमा २० वर्षेदेखि ४५ वर्षसम्मको नेतृत्व एकै ठाउँमा भयो । त्यसैले नेविसंघभित्र एकरूपता वा तादम्य मिलेको छैन ।

० कस्तो भयो नेविसंघ ?
– नेविसंघसँग एजेन्डा छैन, नेविसंघ पार्टीको एजेन्डामा बोल्न सुरु ग¥यो । पार्टीको कुरा बोल्छ नेविसंघ ।

० तपाईं कोषाध्यक्षमा पराजित हुनुभएको होइन ?
– हो, त्यो बेला परिस्थिति बेग्लै थियो । त्यसबेला मैले प्रदेशको उपाध्यक्ष तयारी गरिरहेकी थिएँ । अन्तिम अवस्थामा मलाई कोषाध्यक्षमा लड्न भनियो । तयारी गर्नुपर्ने थियो देशैभरिको, मैले १२ जिल्लाको मात्र तयारी गरेकी थिएँ । जहाँ तयारी गरेको थिएँ, त्यहाँ उठ्न नपाएपछि परिणाम सकारात्मक नआएको हो ।

० नेविसंघभित्र तीन गुट छ ?
– शेरबहादुर, रामचन्द्र र कृष्ण सिटौला समूह भनेर स्पष्टै देखिएको छ ।

० तपाईं चाहिँ कुन गुटको ?
– विद्यार्थीले गुटभन्दा पनि एजेन्डा उठाउनुपर्छ । जसले राम्रो कुरा उठाउँछ, त्यहाँ हामीले समर्थन गर्नुपर्छ । नर्सरीमै हामीले गुट छुटायौं भने त्यसले राम्रो फल दिन्छ जस्तो लाग्दैन मलाई ।

० गुटमा नलागी तपाईंले पद पाउनुहुन्छ त ?
– त्यो अर्को पाटो हो, पार्टी यही कुराले बिग्रेको हो । नेविसंघमा यही कुराले विकृति जन्मेको हो । यो कुराको नेताहरूले अन्त्य गर्नुपर्छ । सामूहिक मान्छेलाई लिने प्रयत्न गर्नुपर्छ ।

० सामूहिक भेटिएला ?
– जो ट्यालेन्ट छ, जसले सबैलाई समन्वय गरेर लैजान सक्छ, जसले गुटभन्दा पनि माथि उठेर कुरा गर्छ, त्यो नै सामूहिक हो नि ।

० नेताको आशीर्वादबिना चुनाव जितिन्छ ?
– नेविसंघ त्यस्तो ठाउँ हो, जहाँ नेताको आशीर्वादले चुनाव जितिँदैन, विद्यार्थीमाझ लोकप्रिय हुनैपर्छ । जो सबै विद्यार्थीमाझ पुग्छ ऊ नै लोकप्रिय हुन्छ ।

० तपाईं ३२ भित्रकै हो ?
– हो, म यो एउटा कार्यकाल नेविसंघ हाँक्न सक्छु ।

० कुन पदका लागि तयारी गर्दै हुनुहुन्छ ?
– नेविसंघ हाँक्नका लागि अध्यक्षको तयारी गरिरहेकी छु । अहिले जो–जो साथीहरूले अध्यक्षको तयारी गरिराख्नुभएको छ, उनीहरूभन्दा मैले धेरै काम गरेको रहेछु ।

० के त्यस्तो काम गर्नुभयो ?
– दुईपटक महासमिति सदस्य भएँ, विश्वविद्यालयको उपाध्यक्ष भएँ, जिल्ला तहको राजनीतिबाट यहाँसम्म आइपुगेकी हुँ । धेरै साथीहरू क्याम्पसमा मात्र राजनीति गरेर आउनुभएको छ ।

० तपाईंलाई किन अध्यक्षमा जिताउनु ?
– वास्तविक विद्यार्थीको एजेन्डा उठाउनका लागि अध्यक्षमा मेरो उम्मेदवारी हो । सबै तह र तप्काका विद्यार्थीलाई समन्वय गरेर लैजाने खुबी मसँग मात्र छ । अर्को कुरा, पार्टीको छायाँमा बसेर होइन, पढाइमा अब्बल विद्यार्थी पनि राजनीतिमा छ भन्ने सन्देश दिन पनि अध्यक्षमा मेरो उम्मेदवारी हो । सबै किसिमको गुट होइन कि क्षमताका आधारमा नेतृत्वमा आउनुपर्छ भन्ने कुराको सुरुवात गर्नका लागि अध्यक्षमा मेरो उम्मेदवारी हो ।

० तपाईंलाई जिताउलान् ?
– जिताउनुपर्छ । नेतृत्व लिन खोज्नेको देशैभरि नेटवर्क हुनुपर्छ । विद्यार्थीको समस्या उठान गर्ने क्षमता हुनुपर्छ । यी सबै क्षमता मसँग मात्र छ ।

० कुन विषयमा डिग्री लिनुभएको छ ?
– म व्यवस्थापनको विद्यार्थी हुँ, फाइनान्स र राजनीतिशास्त्रमा डिग्री लिएकी छु । एलएलबी गरेकी छु ।

० विवाह गर्नुभयो ?
– छैन, राजनीतिमा लागियो, यो पछि विवाह गर्छु भन्दाभन्दै अहिलेसम्म विवाह गरिएन । उमेर सकिएको छैन, नेविसंघको अध्यक्ष भएपछि चाहिँ विवाह गर्नुपर्ला ।

० अध्यक्ष हुनुभएन भने ?
– त्यस्तो होइन, यो चरण सकियो भने विवाह गर्नुपर्ला । गरिहाल्नुपर्छ भनेर मान्छे रेडी छैन भनेको मात्र हुँ ।

० रिलेसनमा हुनुहुन्न ?
– छैन । विवाहका लागि घर, छिमेकी र नातागोताबाट एकदमै पे्रसर छ ।

० राजनीति गर्ने केटीहरू घरबार गर्दैनन् भनिन्छ नि ?
– राजनीति गर्ने केटीहरू व्यवस्थित हुँदैनन्, घरवार हुँदैन भन्ने गराउनु हुँदैन । परिवारको यो चिन्तालाई म दूर गर्दिन्छु । घरवार व्यवस्थित गरेर पनि राजनीति गर्छन् है भन्ने उदाहरण बन्नुपर्छ । तर विवाह भन्ने कुरा पनि जुर्नुपर्ने रहेछ ।

० महिला नेतृहरूलाई पे्रम प्रस्ताव राख्छन् ?
– राख्न त राख्नुहुन्छ, तर पे्रम प्रस्ताव राख्ने मान्छे नै महिलाले राजनीति नगरोस् भन्ने चाहना राख्छन् । केटी ट्यालेन्ट रहेछ भनेर संगत गर्ने र राजनीतिबाट विमुख गराउने चाहना पे्रम प्रस्ताव राख्ने पुरुषसँग पाइयो ।

० पुरुष कस्ता हुँदा रहेछन् ?
– हाम्रो पितृसत्तात्मक समाज हो । विवाह भएपछि श्रीमतीले घरको काम गर्दियोस्, कपडा धोइदियोस्, साँझ खाना पकाएर तयारी गर्दियोस् भन्ने चाहना राख्दा रहेछन् ।

० हुनुपर्ने कस्तो ?
– केटी राजनीति गर्नेभएपछि घरको काममा केटाले ध्यान दिनुपर्छ । त्यो दोहोरो झन्झट व्यहोर्न अधिकांश पुरुष तयार हुँदैनन । राजनीति गर्ने केटीसँग विवाह गर्ने भएपछि केटाले म परिवर्तन चाहने केटीसँग छु, मेरो सहयोगले उसले परिवर्तन गर्छ भन्ने पुरुषमा आँट गर्नुपर्छ । तर, स्वाभाविक पुरुषले यो आँट गर्दैनन् ।

० परिवर्तन स्वीकार गर्नेले मात्र आँट गर्नुप¥यो होइन ?
– हो । सुशीला कार्की र दुर्गा सुवेदीको कथा पढ्दा पनि थाहा हुन्छ । यदि दुर्गाले सहयोग नगरेको भए सुशीला कार्कीको यो हाइट हुँदैन थियो होला ।