१३ बैशाख २०८१, बिहीबार
Follow Us

एकैसाथ १ सय ८० भन्दा बढी सेनामाथि मुद्दा

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०७५, सोमबार १३:०२

काठमाडौं । सैनिक भर्ना प्रक्रियामा अनियमितता गरेको अभियोगमा सैनिक अदालतमा एकसाथ १ सय ८० भन्दा बढी सेनामाथि मुद्दा चलाइएको छ । एक वर्षअघि सेनामा भर्ना हुन आउने व्यक्तिलाई विभिन्न प्रलोभनमा पारी आर्थिक अनियमितता गरेको प्रमाण भेटिएपछि उनीहरुमाथि मुद्दा चलाइएको हो ।

“सैनिक भर्ना प्रक्रियामा अनियमितता गरेको भेटिएपछि १ सय ८० भन्दा बढी जवानमाथि अहिले सैनिक अदालतमा मुद्दा चलाइएको छ,” नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, “मुद्दा चलाइएकोमा सैनिक जवान, पदिकदेखि मेजर (सेनानी)सम्म छन् ।”

०७४ असोजमा सैनिक मुख्यालय जंगी अड्डाले सेनाको तल्लो तहको माग गर्दै विज्ञापन निकालेको थियो । विज्ञापनमा सवारी चालकको माग बढी गरिएको थियो । सोही पदमा फारम बुझाउन आउनेसँग केही सेवारत सैनिकले नाम निकाल्न भनसुन गर्दिने भन्दै आर्थिक चलखेल गरेको उजुरी परेको थियो । त्यसपछि सेनाले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरी छानबीन गरेको थियो ।

छानबिनका क्रममा नक्कली सर्टिफिकेट बनाउने, नक्कली स्वास्थ्य प्रमाणपत्र बनाउनेदेखि पैसा उठाउनेसम्मको काममा संलग्न रहेको भेटिएपछि उनीहरु माथि सैनिक अदालतमा मुद्दा दायर गरिएको हो । सैनिक प्रवक्ता भण्डारीका अनुसार मुद्दा दायर गरिएकोमा दुई जना मेजर पनि रहेका छन् ।

“अहिले उपरथी शरद गिरीको अध्यक्षतामा उनीहरुमाथि कोर्ट मार्सल चलिरहेको छ । आर्थिक अनियमिततामा संलग्न रहेको भेटिएपछि उनीहरुमाथि मुद्दा चलाइएको हो,” सैनिक प्रवक्ता भण्डारीले भने । सैनिक अदालतले छिट्टै मुद्दा किनारा लगाउने उनले जनाए ।