१२ बैशाख २०८१, बुधबार
Follow Us

म्याग्दी घुम्न निम्तो अभियान

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०७५, सोमबार १३:०९

काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘म्याग्दी भ्रमण वर्ष २०७५’ सञ्चालन गरिएको छ । जिल्लाका पर्यटकीय स्थल घुम्नका लागि आन्तरिक पर्यटकलाई आमन्त्रण गर्न भ्रमण वर्ष अभियान सञ्चालन गरिएको हो । अभियानको अगुवाइ गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घको आयोजनामा म्याग्दी भ्रमणको निम्ता गर्न आज काठमाडौँ र काभ्रेका उद्योगी, व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मीसँग अन्तरक्र्रिया गरिएको छ ।
सङ्घका पदाधिकारी, पर्यटन क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधि र स्थानीय तहका जनप्रतिनिधिको टोलीले यसअघि पाल्पा, बुटवल, भरतपुर र हेटाँैडामा प्रचार र अन्तरक्र्रिया गरेको थियो । सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले हिमाल, प्राकृतिक तातोपानीका कुण्ड, पुन हिल, घोडेपानी, मोहोरेडाँडा, खोप्रा, मालीका, टोड्के, गलेश्वर, रुइसे, जलजला, अन्धगल्छी, झरना, निस्कोट बराहलगायत क्षेत्रको भ्रमण गरी पर्यटन प्रवद्र्धनमा सघाउन आग्रह गर्नुभएको थियो ।

अध्यक्ष कर्माचार्यले पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वार म्याग्दीका राउण्ड धौलागिरि, अन्नपूर्ण आधार शिविर, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, पश्चिम धौलागिरि लगायतका पदमार्गको बारेमा जानकारी गराउनुभएको थियो ।

गत वैशाख ३१ गते औपचारिकरुपमा म्याग्दी भ्रमण वर्षको शुरुआत गरिएको थियो । भ्रमण वर्षलाई लक्षित गरेर बेनीको कालीपुलमा पर्यटक सूचना केन्द्र सञ्चालन, स्थानीय तहमार्फत पर्यटकीय स्थलमा पूर्वाधार निर्माण, पर्यटकीय स्थललाई समेटिएका प्रचार सामग्री प्रकाशन गरिएको सङ्घका महासचिव लीलाराम गौतमले बताउनुभयो ।

भ्रमण वर्षका अवसरमा सदरमुकाम बेनीमा भ्रमणका लागि आउने आन्तरिक पर्यटकका लागि यातायात र होटलमा छुटको व्यवस्था मिलाइएको छ । अन्तरक्र्रियाका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाल, उपाध्यक्ष उमेशलाल श्रेष्ठ र ३ नम्बर प्रदेशका संयोजक दिनेश श्रेष्ठले म्याग्दी भ्रमण वर्षलाई सफल बनाउन महासङ्घले साथ दिने बताउनुभयो । उहाँहरुले म्याग्दीमा भएका पर्यटकीय स्थलको प्रचारप्रसार र पूर्वाधार निर्माणसँगै लगानी भित्र्याउन पहल गर्न सुझाव दिनुभयो ।