१३ बैशाख २०८१, बिहीबार
Follow Us

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच गर्न सुरु

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७५, मंगलवार ११:५९

भैरहवा । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रनवेको पिच सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा आज रनवेको पिच सुरु भएको हो । अबको ६ महिनाभित्र पिच सम्पन्न हुने मन्त्री अधिकारीको भनाइ छ । साथै गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य सन् २०१९ अगस्ट सम्म सम्पन्न भई सञ्चालनमा आउने उनले बताए ।

अहिलेसम्म पाँच वटा विमान पार्क गर्न मिल्ने गरी पार्किङ्ग एरियाको काम सम्पन्न भइसकेको छ । ओभरहेड ट्याङ्की, प्रशासनिक भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन लगायतको काम पनि अन्तिम चरणमा छ ।

कन्सल्ट्यान्टको जिम्मा पाएको युसिन कोरियन कन्सल्ट्यान्ट र आयोजना क्यानले संयुक्त रूपमा मूल्याङ्कन गर्दा हालसम्म कार्यप्रगति ५५ प्रतिशत देखिएको आयोजनाका निमित्त प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

विमानस्थलमा धावनमार्गको बेस कोर्सको काम सम्पन्न भइसकेको छ । टर्मिनल बिल्डिङको अराइभल पार्ट अन्तिम तलाको ढलान सम्पन्न भएर फिनिसिङ हुँदैछ । डिपार्टर पार्टको अन्तिम तलाको ढलान सम्पन्न भएको छ ।

त्यस्तै प्रशासकीय भवन निर्माण सकिएको छ । कन्ट्रोल टावरको ८ तलामध्ये ६ तल्लासम्म काम सकिएको छ । पार्किङस्थलको काम सम्पन्न भएको छ । नाला, ट्याक्सी वेका काम भइरहेका छन् । लिङ्क वेका काम पनि भइरहेका छन् ।

आयोजनाको अनुसार बाँकी ५५ प्रतिशत काममध्ये २५ प्रतिशत विद्युतीय काम र २० प्रतिशत अन्य सिभिल काम हुन् । कुल ६ अर्ब २२ करोड ५१ लाख ३० हजार २ सय २७ रुपियाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी चिनियाँ सरकारी कम्पनी नर्थ वेस्टले ठेक्का पाएको हो । अहिलेसम्म ५५ प्रतिशत काम सम्पन्न गरिरहँदा ठेकेदार पक्षले ३५ प्रतिशत रकम लगिसकको छ ।

तर, विमानस्थल निर्माण गर्दा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ढिलाई भइरहेको छ । पर्यटनमन्त्री अधिकारीले स्थानीयको भावनाअनुसारै यसै वर्ष ९ अर्ब मुआब्जा वितरण गर्ने आश्वासन दिएका छन् ।