१५ बैशाख २०८१, शनिबार
Follow Us

जन्मका आधारमा अमेरिकी नागरिक हुने संवैधानिक व्यवस्था अन्त्य गर्ने ट्रम्पको भनाइ

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०७५, बुधबार ०९:४९

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानको नागरिकता सम्बन्धी अधिकार अन्त्य गर्नेबारेमा विचार गरिरहेको बताएका छन् । अमेरिकाको एउटा वेबसाइटसँगको अन्तवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले विदेशी नागरिकका अमेरिकामा जन्मेका सन्तानले स्वतः अमेरिकी नागरिकता पाउने प्रावधान परिवर्तन गर्नेबारे आफूले विचार गरिरहेको बताएका हुन् ।

उनले १ सय ५० वर्षअघिको प्रावधान समयानुकूल नभएकाले आफू त्यस्तो प्रावधान अन्त्य गर्ने पक्षमा रहेकाले कंग्रेसको अनुमोदनविना नै कार्यकारी आदेशमार्फत् त्यस्तो कदम चाल्न सकिने स्पष्ट पारेका हुन् । संविधान संशोधन मार्फत सन् १८८६ देखि कायम रहेको जन्मसिद्ध नागरिकताको अधिकारसम्बन्धी प्रावधान उल्टाउन सक्ने अख्तियार राष्ट्रपतिसँग नरहेको अधिकांश विज्ञको भनाइ छ ।

राष्ट्रपति आफ्नो योजनाअनुसार अघि बढेमा उनले त्यसप्रति कानुनी चुनौतीको सामना गर्नपर्ने हुनसक्ने समेत बताइएको छ । अमेरिकाको संविधानले अमेरिकामा जन्मेका र अंगीकृत नागरिकता लिएका सबैलाई अमेरिकी नागरिक मानेको छ ।