१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपालको वन्यजन्तु संरक्षण सम्वन्धी प्रस्ताव वेलायती संसदमा दर्ता

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७५, बुधबार १३:२६

लण्डन। लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा वक्ताहरुले बाघको संरक्षणमा नेपालले प्राप्त गरेको सफलताको खुलेर प्रशंसा गरेका छन्।

लण्डनस्थित नेपाली दूतावास तथा ब्रिटेन नेपाल सोसाइटीद्वारा मंगलबार संयुक्त रुपमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै समारोहका प्रमुख अतिथि ब्रिटिश सांसद सर जोन मानले वन्यजन्तु संरक्षणमा नेपालले प्राप्त गरेको सफलताबाट विश्वले नै पाठ सिक्नुपर्ने बताए। उनले यसै विषयमा छलफल गर्न ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्समा एक प्रस्ताव पेश गरिएको र त्यसबारे छिट्टै छलफल हुनेपनि बताए। यो सफलता कसरी संभव भयो, त्यो सन्देश लिएर तपाईंहरु संसारभरि जानोस्, ब्रिटेनलेपनि यसमा सघाउने छ, उनले भने।

नेपाल विकास संमेलन ३ अन्तर्गत आगामी २०० वर्षमा नेपाल-ब्रिटेन संबन्ध’ नाम दिइएको सो कार्यक्रमका अर्का वक्ता ब्रिटिश सेनाका पूर्व प्रमुख फिल्डमार्शल सर जोन च्यापेलले वर्षेनी पूर्वी अफ्रिकामा सैयौं गैंडाहरुको चोरी शिकारी गरिने गरेको त्यसको तुलनामा नेपालमा चोरी शिकारी निकै घटेको भन्दै त्यसको प्रशंसा गरे। ‘युके ट्रष्ट फर नेचर कन्जर्भेशन इन नेपाल’ का प्रमुख पनि रहेका सर च्यापेलले नेपाल प्रकृति तथा वन्यजन्तु संरक्षणमा संसारमै अगुवा रहेको बताए।

ब्रिटेनको परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख फर्गुस औल्डले ब्रिटेन तथा नेपालबीचको ऐतिहासिक संबन्धका आधारहरुबारे विस्तारमा चर्चा गरेका थिए। उनले सुशासन, समावेशी आर्थिक वृद्धि, हरित अर्थतन्त्र, शैक्षिक तथा प्रतिरक्षा सहयोग दुई देशबीचको संबन्धका प्रमुख पाटाहरु रहेको बताए। उनले सन् २०१७(१८ मा दुई देशबीच व्यापार झण्डै २० करोड पौण्ड पुगेको बताउँदै त्यसलाई अरु बढाउनसकिने संभावना रहेको बताए। उनले नेपालमा हरित अर्थतन्त्रको विकास गर्नकालागि जलस्रोतको प्रमुख भूमिका रहेको बताउँदै नेपालमा विदेशी लगानी भित्र्याउन नेपालको क्षमता विकास गर्न डिफिडले लगानी बोर्डलाई तीन करोड पाउण्ड सहयोग गरेको पनि जानकारी दिए।

युनिभर्सिटी अफ लण्डन अन्तर्गतको ‘स्कुल फर अफ्रिकन एण्ड एसियन स्टडीज’ ९सोआस० मा नेपाल तथा हिमाली अध्ययन विषयका प्राध्यापक डा। माइकल हटले दुई देशबीचको संबन्ध शुरुमा सैनिक प्रकृतिको रहे पनि अहिले नेपाल र ब्रिटेनबीच समानता र सार्वभौमिकताको आधारमा संबन्ध अघि बढीरहेको बताए। उनले अहिले नेपाली तथा ब्रिटिश प्राज्ञहरुले विभिन्न क्षेत्रमा अध्ययन र अनुसन्धानमा सहकार्य गरिरहेको पनि बताए।

कार्यक्रममा नेपालमा भूमिगत रेल सेवाका बारेमा एउटा प्रस्तुति दिंदै इन्जिनियर डाविनोदलाल अमात्यले काठमाडौंको ट्रा फिक जाम र प्रदूषणको समस्यासंग जुध्न मोनोरेल भन्दा भूमिगत रेल सेवा नै उपयुक्त हुने बताए। उनले नेपालले कम्तीमा २० वर्ष लामो रेल योजना बनाएर राजधानीमा भूमिगत रेल सेवाकोविकास गर्नुपर्ने र त्यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेल सन्जालसंग जोडनुपर्ने सुझाव पनिदिए।

बेलायतका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदीले नेपालको विकासका विभिन्न पाटाहरुबारे छलफल गर्न लण्डनमा नेपाल विकास सम्मेलनहरु आयोजना गर्न थालिएको बताए। उनले सम्मेलनमा सहभागी सबैलाई धन्यवाद पनि दिएका थिए।

नेपालका लागि पूर्व ब्रिटिश राजदूत तथा ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष एण्ड्रयु स्पार्क्सले नेपाल तीन वर्ष अघि गएको विध्वंशात्मक भूकम्पबाट पुनर्निर्माणको चरणतर्फ गैरहेको र नेपालको विकासमाब्रिटेन एक महत्वपूर्ण साझेदार भएको पनि बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरे।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सन्चालन गरेको कार्यक्रमको अन्त्यमा नेपाली नृत्यहरु पनि प्रस्तुत गरिएको थियो।


सबै तस्वीरहरु: नेपाली दूतावास लण्डन