१२ बैशाख २०८१, बुधबार
Follow Us

उद्योग मन्त्री मातृका यादव हतियारसहित भारत प्रवेश

नेपालब्रिटेन संवाददाता
१४ कार्तिक २०७५, बुधबार १४:५०

विराटनगर । बहालवाला मन्त्री सरकारको अनुमति बिना भारत प्रवेश गर्न मिल्छ कि मिल्दैन । कुटनीतिक मर्यादा विपरित नेपालका मन्त्रीले भारत प्रवेश गरे के हुन्छ । यस्तै प्रश्न उब्जिएको छ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको हकमा । बोल्नलाई सर्वाधिक छुट पाएका र बिभिन्न हर्कतका कारण चर्चामा आउने गरेका मन्त्री यादवले यस्तै व्यवहार देखाएका छन् बुधबार विराटनरमा ।

विराटनगरको बुधनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी आईसीपी निरीक्षण गर्ने क्रममा मन्त्री यादव भारत तर्फ प्रवेश गरेका हुन् । कुटनीतिक मर्यादा विपरित हतियारसहित भारततर्फ जोगबनीमा बनेको आईसीपी छिर्ने क्रममा उनले भारत छिर्न भिसा चाहिन्छ भन्दै गेट खोल्न लगाएका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसी, प्रहरी उपरीक्षक मनोज केसी लगायतले भारत तर्फ प्रवेश गर्न नमिल्ने बताएपछि मन्त्रीसंगै निरीक्षण टोलीमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति सचिवहरु यामकुमारी खतिवडा र चन्द्रकुमार घिमिरेलगायत मन्त्रालयका उच्चअधिकारीहरु नो मेन्स ल्याण्ड मै रोकिएका थिए ।

कुटनीतिक मर्यादा विपरित मन्त्री यादव र एक नम्बर प्रदेशका उद्योग वन तथा वातावरण मंत्री जगदीश कुसियत भारत तर्फको आईसीपी निरीक्षण गर्न भारत प्रवेश गरेपछि निरीक्षण टोलीका अन्यहरु भने केही बेर अन्यौलमा परेका थिए ।