१३ बैशाख २०८१, बिहीबार
Follow Us

हिन्दूसभामा देखिदैछन् पूर्वराजा ज्ञानेन्द्र

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७३, मंगलवार ०६:२८

काठमाडौं– काठमाडौंमा कार्तिक ४, ५ र ६ गते अन्तर्राष्ट्रिय विराट हिन्दू सम्मलेन हुँदैछ । यो सम्मेलनको मूल उद्देश्य हिन्दू राष्ट्रको शंखघोष गर्ने हो । नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको १३ महिनापछि बल्ल हिन्दूहरु जागेका छन् । हिन्दू समुदाय यसरी ननिदाएको भए, ९५ प्रतिशत ॐकार परिवार बसोबास गर्ने नेपाललाई कसैले पनि धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न सक्ने थिएन ।
हिन्दूले पहिचान खोज्ने यो विराट हिन्दूसभाले शंखघोषका साथ हिन्दूधर्म माग गर्दा राजनीतिमा ठूलै तरङ्ग उत्पन्न हुने निश्चित छ । चुरो कुरो के हो भने यो हिन्दू विराटसभाको उद्घाटन पूर्वराजा ज्ञानेन्द्रले गर्ने भएका छन् । भारतका गोरखनाथ पीठाधिश्वर योगी आदित्यनाथदेखि थुप्रै हिन्दू नेता, योगी, सन्त, ज्ञानीहरु नेपाल आउने भएका छन् । कार्यक्रमको संयोजकमा भरतकेशर सिंह, आदित्यनाथ र विश्वहिन्दू महासंघका अध्यक्ष हेमबहादुर कार्कीले विराट हिन्दू सम्मेलन सफल पार्न संयोजन गरिरहेको खबर छ ।
हेमबहादुर कार्कीका अनुसार विश्वका ४४ देशका हिन्दूहरु यो सम्मेलनमा सहभागी हुन आउने भएका छन् । भारतका चारवटै पीठाधिश्वर शंकराचार्यहरु र हजारभन्दा बढी मठाधीश, गुरुहरुको विशेष उपस्थितिमा हुने यो विराट हिन्दू सम्मेलनमा उद्घाटनपछि पूर्वराजाले संवोधन गर्ने कार्यक्रम पनि बन्दैगरेको छ । यदि पूर्वराजाले हिन्दू राष्ट्रको माग गरे र आमनागरिकलाई साथ दिन आह्वान गरिदिए भने के होला ? समाजमा त्यो आह्वानको कस्तो असर पर्ला र धर्मनिरपेक्षतावादीहरुले त्यसको मुकाविला कसरी गर्लान् ? राजधानीमा जम्मा हुने एकलाख देशी विदेशी हिन्दूवादीहरुले त्यही महासम्मेलनबाट हिन्दूत्व क्रान्तिको घोषणा गर्न सक्छन् । हिन्दूराष्ट्रको विशेष प्रस्ताव पारित गरेपछि त्यस्तो क्रान्तिको आवाज उठ्नसक्छ, उठ्यो भने संशोधनको तैयारी भइरहेको संविधानमा एकैपटक नेपाल हिन्दूराष्ट्र हुने संशोधनको मार्ग खोलिनसक्छ ।