७ बैशाख २०८१, शुक्रबार
Follow Us

सहकार्य विस्तार गर्दै साझा यातायात

नेपालब्रिटेन संवाददाता
१५ कार्तिक २०७५, बिहीबार ११:०१

ललितपुर । साझा यातायातले स्थानीय सरकार र प्रदेश सरकारसँग सहकार्य विस्तार गर्ने भएको छ ।

दुई वर्षपहिले काठमाडौँ महानगरपालिकाले साझा यातायातको शेयर खरीद गरेकामा अहिले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकाले शेयर खरीद गरिसकेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । नगरवासीलाई सुविधा दिनका लागि नगरपालिकाले साझासँगको सहकार्यमा बस खरीद गर्ने र सञ्चालन गर्न चाहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले पनि साझासँग सहकार्य गर्न इच्छा देखाएको छ । अरू धेरै नगरपालिकाले साझाको शेयर खरीद गर्न चाहेका छन् । उहाँले भन्नुभयो, “हामीले नगरपालिकालाई शेयर दिने र त्यहीँबाट बस किनेर सञ्चालन गरिरहेका छौँ ।” ललितपुर महानगरपालिकाले रु १५ करोड, ललितपुर महानगरपालिकाले रु एक करोड, गोदावरी नगरपालिकाले रु १० लाख र महालक्ष्मी नगरपालिकाले रु १५ लाख शेयर खरीद गरिसकेका छन् ।

काठमाडौँ उपत्यकाका नगरपालिकासँग सहकार्य बढाएसँगै साझाले सेवा ग्रामीण क्षेत्रसम्म विस्तार गरिरहेको छ । पहिले साझाले नगरका भित्री भागमा मात्रै सेवा सञ्चालन गरेकामा अहिले भक्तपुर, लामाटार, गोदावरी र बूढानीलकण्ठसम्म सेवा विस्तार गरेको छ । पाण्डेयले भन्नुभयो, “अरू स्थानीय तहसँग पनि सम्बन्ध बढाएर सेवा विस्तार गर्दै लैजाने योजना छ ।” एशियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई प्रदान गरेको विद्युतीय बस पनि साझाको व्यवस्थापनमा केही समयका लागि काठमाडौँ उपत्यकामा नै गुड्दैछ ।