७ बैशाख २०८१, शुक्रबार
Follow Us

बहुमतको कम्युनिष्ट सरकार असफलतातिर उन्मुख : नयाँ शक्ति

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७५, शुक्रबार १३:२३

काठमाडौं । नयाँ शक्ति पार्टीले दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार सबै क्षेत्रमा असफलतातिर उन्मुख भएको निष्कर्ष निकालेको छ । पार्टीको महाधिवेशन आयोजक कमिटीको १५ औं पूर्ण बैठकले कम्युनिष्ट–कांग्रेस नेतृत्वको पुरानो राजनीतिक ध्रुव देशको समृद्धीकरणको युगको नेतृत्व गर्न असक्षम हुँदै गएको उल्लेख छ।

‘नयाँ शक्तिको नेतृत्वमा नयाँ राजनीतिक ध्रुव निर्माण देशको अपरिहार्य आवश्यकता बन्न पुगेको निष्कर्ष निकाल्दै यस कार्यमा योगदान गर्न सबै दल, समूह, व्यक्ति, व्यक्तित्वलाई विनम्रतापूर्वक सार्वजनिक अपील गरेको छु, वक्तव्यमा भनिएको छ।

बैठकमा संयोजक डा बाबुराम भट्टराईद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। ‘राजनीतिक प्रतिवेदनमाथिको छलफलमा ६८ सदस्यले भाग लिनुभएको थियो, वक्तव्यमा भनिएको छ, छलफलपछि आवश्यक परिमार्जनको प्रतिबद्धतासहित पार्टी संयोजक डा. बाबुराम भट्टराईले स्पष्टीकरण मन्तव्य व्यक्त गरेका थिए र प्रतिवेदन पारित गरियो।’

बैठकले आगामी मंसीर १ गतेदेखि चैत्र ३० गतेसम्मको ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ कार्ययोजना तयार गरेको छ। यस कार्ययोजना मुताविक पार्टी महाधिवेशन आयोजक कमिटीका सबै सदस्यहरु देशका ७७ जिल्लामा अभिप्रेरकका रुपमा परिचालित भई स्थानीय पार्टी अधिवेशन सम्पन्न गर्ने र पार्टीलाई वडा तहसम्म विस्तार गरिनेछ।

२०७५ माघ १५ गतेदेखि फाल्गुन १५ गतेसम्म पार्टी संयोजक डा। बाबुराम भट्टराईको नेतृत्वमा पाँचथरको चिवा भन्ज्याङ्गदेखि बैतडीको झुलाघाटसम्म १७६५ किमी लामो मध्यपहाडी लोकमार्गमा जनजागरण यात्रा गरिने निर्णय गरिएको छ।

‘यात्रामा नयाँ आर्थिक क्रान्ति र समावेशी समृद्धिको मार्गचित्र, संविधानका अपूर्णता पूरा गर्न संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद, स्थानीय तहहरुको सवलीकरण, प्रदेशहरुको पुनर्सीमांकन, सुशासनका लागि अख्तियार र कर्मचारीतन्त्रको पुनर्गठन, विदेशमा बस्ने नेपालीहरुको भोटिङ अधिकार लगायतका सवालमा बृहत जागरण अभियान सञ्चालन गरिनेछ’, वक्तव्यमा भनिएको छ ।