१३ बैशाख २०८१, बिहीबार
Follow Us

कानुन मिचेर २७ करोड खर्च

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७५, आईतवार ०४:०५

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट सञ्चालन हुने तालिममा चरम अनियमितता भएको भेटिएको छ । प्रधानमन्त्रीमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानमा कोषको २७ करोड ६२ लाख १४ हजार सात सय रुपैयाँ अनियमित रूपमा खर्च भएको पाइएको हो ।

‘नेपाल उद्योग वाणिज्य महासंघलाई तालिम तथा प्रशिक्षणका नाममा ४४ लाख ४७ हजार एक सय रुपैयाँ तथा महासंघ र मातहतका ९१ संस्थालाई २७ करोड १७ लाख ६७ हजार ६ सय रुपैयाँ गैरकानुनी रूपमा दिएको देखिन्छ,’ केन्द्रको अनुसन्धान प्रतिवेदनमा भनिएको छ । ठूलो रकम अनियमितता भेटिएपछि थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन पठाइएको केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले बताए ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सञ्चालक समितिले अभिमुखीकरण तालिमका लागि निश्चित मापदण्ड बनाएको थियो । त्यसअनुसार तालिममा खर्च गर्नुपर्नेमा जथाभावी खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । खर्चको हिसाबकिताब गर्दा अनियमितताको रकम निस्किएको हो । यसमा नेपाल उद्योग वाणिज्य महासंघले दाबी गरेको थप भुक्तानीको अंक समावेश छैन । उसले करिब ११ करोड रुपैयाँ थप दाबी गरेको छ ।

केन्द्रको प्रतिवेदनअनुसार कोषले नेपाल उद्योग वाणिज्य महासंघलाई १० करोड ८९ लाख ९८ हजार रुपैयाँ पेस्की दिएको थियो भने नेपाल चेम्बर अफ कमर्सलाई विभिन्न समयमा ३८ लाख रुपैयाँ उपलब्ध गराएको थियो । प्रतिवेदनमा भनिएको छ, ‘महालेखा परीक्षकको कार्यालयले समेत यी विषय उठाएको छ । ती निकायले तालिम सञ्चालन गर्न लिएको रकम हालसम्म फस्र्योट गरेका छैनन् ।’