१५ चैत्र २०८०, बिहीबार
Follow Us

राप्रपाका तीन समूहबीच एकता प्रयास

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७५, आईतवार १३:२९

काठमाडौं । दक्षिणपन्थी विचारधारा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीनै समूहका नेताहरुले फेरि पार्टी एकताका लागि आन्तरिक छलफल सुरु गरेका छन् । पटक–पटक विभाजन हुने र जुट्ने काममा ‘रेकर्ड’ बनाएको राप्रपाका विभिन्न समूहबीच एकताका लागि यसपटक दोस्रो तहका नेताहरु सक्रिय देखिएका छन् । प्रजातन्त्रको पुनःस्थापनापछि राष्ट्रवादी नारामा स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अहिले तीन समूहमा विभाजित छ ।

तीन समूहमध्ये राप्रपाको नेतृत्व कमल थापा, राप्रपा प्रजातान्त्रिकको नेतृत्व पशुपतिशमशेर जबरा र राप्रपा राष्ट्रवादीको नेतृत्व डा. प्रकाशचन्द्र लोहनीले गरिरहेका छन् । राप्रपा सैद्धान्तिक विमतिले नभइ नेताहरुको व्यक्तिगत स्वार्थका कारण पटक–पटक टुट्दै र जुट्दै आएको हो । पछिल्लोपटक राप्रपाले २०७३ सालमा एकता महाधिवेशन गरेको थियो । एकता महाधिवेशनलगत्तै पार्टी तीन चिरामा विभाजित भयो ।

अघिल्लो वर्ष सम्पन्न तीनओटै निर्वाचनमा विभाजनका कारण राप्रपा अस्तित्व नै समाप्त हुनेगरी पराजित भयो । सर्मनाक पराजितको स्वाद चाखेको एक वर्षपछि अहिले तीनै समूह एकताका लागि सक्रिय भएका छन् । राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजाराम श्रेष्ठले अब नफुट्ने गरी एकताका लागि छलफल भइरहेको दाबी गरे । पार्टी एकताका लागि नेताहरुबीच विभिन्न विकल्पमा छलफल भइरहेको बताइएको छ ।

तीनै समूहभित्र युवापुस्तालाई नेतृत्व हस्तान्तरण नगरेसम्म दिगो पार्टी बनाउन नसकिने मत बलियो छ । नेतृत्वको कार्यशैलीप्रति असहमति जनाउँदै पछिल्लो समय निस्क्रिय रहेका राप्रपाका वरिष्ठ नेता दिलनाथ गिरीले जनअपेक्षाअनुसार पार्टीलाई दिगो र प्रभावकारी बनाउन वर्तमान नेतृत्वले त्याग गर्नु अपरिहार्य भएको बताए । तर, नेता हुनकै लागि गुट चलाएर बसेको वर्तमान नेतृत्वले त्यति सजिलै नेतृत्व हस्तान्तरण गर्ने सम्भावना पनि उत्तिकै न्यून छ ।

एकताका लागि सैद्धान्तिक असहमति भने नरहेको दाबी गरिएको छ ।तर, नेताहरुबीच स्वार्थ नमिलेसम्म तत्काल ठोसरुपले एकता हुनेमा भने शंका कायमै छ ।