८ बैशाख २०८१, शनिबार
Follow Us

लामिछाने विश्वका १० उत्कृष्ट व्यक्तिमा छनोट

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७५, आईतवार १९:१३

लन्डन । जापानको चुकुबा विश्वविद्यालयमा कार्यरत सहप्राध्यपक डा. कमल लामिछानेले एक अन्तराष्ट्रिय सम्मान प्राप्त गरेका छन् ।

विश्वका १२५ राष्ट्रमा आफ्नो संजाल रहेको र मानविय क्षेत्रमा कृयाशिल जुनिअर चेम्बर इन्टरनेश्नल (जेसिआइ) ले हरेक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याएका १० उत्कृष्ट व्यक्तिहरूको छनोटमा लामिछाने परेका हुन् । सो सम्मान पाउने डा. लामिछाने पहिलो नेपाली हुन् ।

“यो सम्मान नेपाल र नेपालीहरूमा समर्पित गर्न चाहान्छु । यो सम्मानबाट मानिसहरूमा थोरै नै भएपनि अपांगताप्रति जनचेतना जगाउन सकियो र सँगसँगै आगामी दिनहरूमा नेपालबाट जेसिआइलगायतका मन्चमा हाम्रो प्रतिनिधित्व धेरै भन्दा धेरै हुन सक्यो भने आफ्नालागि त्यो नै ठूलो सन्तुष्टि हुनेछ लामिछानेले भने ।

लामीछानेले आफ्नो सम्मानलाई सिफारिस गर्ने जेसिआइ नेपालप्रति आभार प्रकट गर्दै भने नेपालमा राम्रो काम गर्नेहरू यथेष्टै भएकाले आगामी दिनहरूमा नेपाल जेसिसले बिना कुनै आग्रह, पूर्वाग्रह र कन्जुस्याँइ त्यस्ता व्यक्तिहरूलाई सिफारिस गरी छनोट प्रकृयामा सहभागी हुने अवसर दिलाउने अपेक्षा गर्दछु,

हरेक मुलुकमा रहेको जेसिसका कार्यालयहरूले बिभिन्न क्षेत्रमा योगदान पुर्याएका आफ्ना नागरीकहरूलाई सिफारिस गर्न सक्ने व्यवस्था अनुसार लामिछानेलाई यसपटक नेपालबाट जेसिसले सिफारिस गरेको थियो । ३९ मुलुकका ४० वर्ष भन्दा कम उमेरका विभिन्न क्षेत्रमा योगदान पुर्याएका २२२ जना व्यक्तिहरू सिफारिस भएकोमा छनोट समितिले सुरूमा उनीहरूले पुर्याएको योगदानलाई आधार मानी उत्कृष्ट २० जनाको सूची तय गरेको थियो ।

आफ्नो कार्यकालमा नेपाललाई जेसिआइको यस्तो सम्मान मिलेकोमा जेसिआइ नेपालका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले खुशी व्यक्त गर्दै लामिछानेले पुर्याएको योगदान र हासिल गरेकाे उपलब्धिलाई हेर्दा उनकालागि यो सम्मान स्वभाविक भएको बताए ।

आगामी दिनहरूमा उनीसँगै मिलेर अपांगतासहित अन्य क्षेत्रमा काम गर्न सकिनेमा आफू आशावादी भएको बस्यालले बताएका छन् । साथै जेसिआइका अन्तराष्ट्रिय अध्यक्ष मार्क ब्राइम लिमले डा. कमल लामिछाने जस्ता व्यक्तित्वलाई सम्मानित गर्न पाउँदा खुसी लागेको र उनको योगदान र संघर्षको कथाले धेरैलाई प्रेरणा मिल्ने बताए ।

त्यसपछि त्यहाँबाट १० जना सम्मानित हुनेहरूको नाम तय गर्न अनलाइन भोटिङ खुला गरिएको थियो । तर भोट बढि ल्याउँदैमा मात्रै त्यो सूचीमा पर्न सकिँदैनथ्यो । जेसिआइले आफ्नो वेबसाइटमार्फत दिएको जानकारी अनुसार उसका अन्तराष्ट्रिय अध्यक्षका अलावा बान्कि मुन सेन्टर फर ग्लोवल सिटिजन्सका प्रमूख कार्यकारीसहितको ५ सदसीय निर्णायक समितिले १० उत्कृष्ट युवा व्यक्तिहरूको सूचीलाई अन्तिम रूप दिएको थियो । डा. लामिछानेसहित सिरिया, मंगोलिया, फिलिपिन्स, बेलायत, नाइजेरिया र टर्कीबाट यो पुरस्कार हासिल गर्न सफल उनीहरूलाई भारतस्थित गोवामा भएको जेसिआइको विश्व सम्मेलनका क्रममा यहि नोभेम्बर २ तारिकका दिन मुखर्जी रंगशालामा एक समारोहका बीच सम्मान गरिएको हो ।

को हुन् लामिछाने ?

डा. कमल लामिछाने धेरैकालागि अपरिचित नाम होइन । उनी विद्यावारिधी गर्ने नेपालकै पहिलो दृष्टिविहीन व्यक्ति हुन् । दृष्टिविहीन भएकै कारण १२ वर्षको उमेरसम्म पढ्न नपाएका लामिछाने चितवनस्थित कालिका नगरपालिका वडा नं. ७ का स्थायी बासिन्दा हुन् । उनले सन् २०१० सालमा टोक्यो विश्वविद्यालयबाट पिएचडी गरेका हुन् ।

जापानमा बसोबास गर्ने लामिछाने हाल चुकुबा विश्वविद्यालयका सहप्राध्यपक हुन् । चुकुबामा अध्यापन गर्नु पूर्व उनी जाइका अनुसन्धान केन्द्रमा अनुसन्धानकर्ताका रूपमा कार्यरत थिए । उनका शिक्षाका साथै अपांगतासम्बन्धी थुप्रै अनुसन्धानमूलक प्राज्ञिक आलेखहरू अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् भने राष्ट्रिय दैनिकहरूमासमेत विगत लामो समयदेखि स्तम्भहरू लेख्दै आएका छन् । लामिछानेको विकासोन्मुख मुलुकमा अपांगता, शिक्षा र रोजगारी नामक क्याम्ब्रिज विश्वविद्यालयबाट २०१५ सालमा प्रकाशित पुस्तकलाई जापान सोसाइटी फर इन्टरनेश्नल डिभेलोपमेन्टले २०१६ सालमा पुरस्कृत गरेको थियो ।

आत्मविश्वास, परिश्रम र सकारात्मक सोचमा विश्वास राख्ने उनले संयुक्त राष्ट्र संघको दीगो विकाशका लक्ष्यहरूमा अपागंतालाई समेट्न महत्वपूर्ण भूमिका खेलेका थिए । विश्व बैंक र संयुक्त राष्ट्रसंघका अलावा उनले एशिया, उत्तर र दक्षिण अमेरीका अनि अष्ट्रेलियामा बिभिन्न समयमा शिक्षा र रोजगारीका बारेमा अनुसन्धानमा आधारित लेक्चरहरू दिँदै आएका छन् ।
अन्तराष्ट्रिय रूपमा यस्तो सम्मानको व्यवस्था हुनु पहिले अमेरीकामा पूर्वराष्ट्रपतिहरू जोन एफ केनेडी, रिचर्ड निक्सन र बिल क्लिन्टनलगाएतले पनि जेसिआइको अमेरीकाभित्र यो सम्मान पाएका थिए ।