७ बैशाख २०८१, शुक्रबार
Follow Us

यमनको हुडैडामा लडाइँ चर्किदाँ कैयौँको मृत्यु

sarusaru
१९ कार्तिक २०७५, सोमबार ०२:३२

बीबीसी । यमनको हुडैडा बन्दरगाह शहरमा भएको पछिल्लो लडाइँका क्रममा दर्जनौँ हुथी विद्रोहीहरू मारिएको विवरणहरूमा जनाइएको छ।

अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त यमन सरकारप्रति वफादार फौजले सो शहरमा हमला गरिरहेका छन्। वर्षौँलामो द्वन्द्व अन्त्य गर्न अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला सो शहरमा लडाइँ चर्किएको हो।

हुडैडास्थित विश्वविद्यालय वरपरकेन्द्रित नयाँ हमलामा अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमन सरकारप्रति वफादार कैयौँ लडाकुहरू पनि मारिएको बताइएको छ। हुथी विद्रोहीहरूलाई उनीहरूको एउटा मुख्य रणनीतिक क्षेत्रबाट धपाउने प्रयासस्वरुप हुडैडामा गत जूनबाट सैन्य कारबाही शुरु गरिएको थियो।

यमन सरकारलाई हुथी विद्रोहीसँगको लडाइँमा साउदी नेतृत्वको गठबन्धनले समर्थन गर्दै आएको छ र साउदी नेतृत्वको गठबन्धनले हुडैडा शहरलक्षित हवाई हमलाहरू गरेको बताइएको छ। हालैका दिनमा युद्भविराम घोषणा गर्नका लागि संयुक्त राष्ट्रसंघ तथा संयुक्त राज्य अमेरिकाले युद्धरत सबैपक्षलाई दबाब दिएका छन्।

बीबीसीका मध्यपूर्व सम्पादक सेबस्टियन अशर भन्छन्, पछिल्ला केही दिनयता हुडैडास्थित हुथी विद्रोहीहरूका विरुद्ध यमन सरकारप्रति वफादार तथा संयुक्त अरब एमिरेट्सले प्रशिक्षण दिएको फौजले नयाँ सैन्य कारबाही गरिरहेका छन्। हुथीहरूविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनको समर्थन गर्ने अमेरिकाले गत हप्ता आगामी तीस दिनभित्र संघर्षविराम गर्नका आह्वान गरेको थियो र धेरैजसोले हुडैडामा लडाइँ चर्किनुमा अमेरिकाले अप्रत्याशित रूपमा गरेको उक्त आह्वान कारण भएको विश्वास गर्दछन्।

स्थलगत कारबाही गरिरहेको साउदी नेतृत्वको गठबन्धन र यमनी फौजले हुडैडाभित्र र हुडैडाको वरपरको धेरैजसो भाग आफ्नो कब्जामा लिएको जस्तो देखिएको बताइएको छ। संयुक्त राष्ट्रसंघका अनुसार यमनमा सन् २०१५ को मार्चयता भएको लडाइँमा यो वर्षको जूनसम्म मात्रै करिब १० हजार मानिसको ज्यान गुमाएका थिए। मारिनेमध्ये दुई-तिहाइ गैरसैनिकहरू थिए।

सैन्य गठबन्धनले गरेका हवाई हमलाहरूका कारण धेरैजसोको ज्यान बताइएको छ।
डिसी नेपाल