१३ बैशाख २०८१, बिहीबार
Follow Us

राजकुमार ह्यारीले श्रमदान गरेको विद्यालयमा कुर्सी समेत छैन

नेपालब्रिटेन डट कम्
४ आश्विन २०७३, मंगलवार ११:३१

बेलायती राजकुमार ह्यारीले श्रमदान गरेको उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभातकिरण माध्यमिक विद्यालय पुनर्निर्माण हुँदाहुँदै पढाई सञ्चालन गरिएको छ ।
‘पानी परेपछि टहरोमा पठनपाठन गर्न गाह्रो भो’ प्रध्यानाध्यापक जीतबहादुर गुरुङले भन्नुभयो – ‘भवन पुनर्निर्माण भइनसकेपनि नियमित पठनपाठन सुरु गरेका छौँ ।’
ह्यारीले श्रमदान गरेको विद्यालय भवन पुनर्निर्माणको काम झण्डै ९० प्रतिशत सम्पन्न भएको विद्यालयले जनाएको छ । ‘भवनमा रङ लगाउन बाँकी छ’ – उहाँले भन्नुभयो ।

नेपालमा आफ्नो ६ दिने औपचारिक भ्रमण सकेपछि राजकुमार ह्यारीसहितको टोली स्कुल पुनर्निर्माणमा सघाउन भन्दै गत चैत १० गते लापुबेँसी पुग्नुभएको थियो । लापुबेँसीमा ६ दिनको बसाइमा ह्यारीले डोकोमा ढुङ्गा र काठ बाकेर विद्यालय भवन पुनर्निर्माणमा सहयोग गर्नुभएको थियो । ह्यारीसहितको १८ जनाको टोलीले विद्यालयको १२ कोठे भवन पुनर्निर्माणमा श्रमदान गरेका हुन् । स्थानीय कामदारसँग मिलेर ह्यारीले वनबाट काठ बोक्ने, ढुङ्गा बोक्ने काम गर्दै भवन पुनर्निर्माणमा सहयोग गरेपछि स्थानीयवासी खुसी भएका थिए ।

बेलायती परोपकारी संस्था टिम रुविकन युकेले पुनर्निर्माण सुरु गरेको विद्यालय भवन पुनर्निर्माणमा सघाउन ह्यारी सडक मार्गबाट झण्डै चार घन्टा पैदल हिँडेर लापुबेँसी पुग्नुभएको थियो ।

भूकम्पपछि छिमेकी विद्यालयका भवन पुनर्निर्माणमा दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था ओइरिएका बेला विकासको दृष्टिले पछाडि परेको उक्त विद्यालयको टहरो पनि बनाउन सकिएको थिएन । त्यसैबेला टिम रुविकन युकेमार्फत एक टोली विद्यालय पुनःनिर्माणमा सघाउने भन्दै गाउँ पुगेको थियो । पछि सोही संस्थाले राजकुमार ह्यारीलाई विद्यालय पुनर्निर्माणमा श्रमदान गराउन गाउँ पु¥याएको हो ।

एक सय ९८ विद्यार्थी पठनपाठन गर्दै आएको विद्यालयमा तीनजना शिक्षकमात्रै सरकारी दरबन्दीका छन् । अन्य आठजना शिक्षकलाई निजी स्रोतबाट पारिश्रमिक दिनुपर्दा विद्यालय समस्यामा छ ।

विद्यालयको समस्या
राजकुमार ह्यारीले श्रमदान गरी पुनर्निर्माण गरिएको उक्त विद्यालयमा चर्चा भएजति भौतिक संरचना छैन । विद्यालय भवन पुनर्निर्माणको जिम्मा लिएको संस्थाले तीव्र गतिमा काम अघि बढाउन नसक्दा विद्यालयको पुनर्निर्माण सक्न अझै समय लाग्ने देखिन्छ । टिम रुविकन युकेले विद्यालयमा सौर्य बत्ती पनि जडान गरिदिएको छ ।

‘विद्यालयमा खानेपानीको सुविधा छैन । टेबुल, कुर्सी, डेक्स, बेन्च छैन’, प्रअ गुरुङले गुनासो गर्नुभयो – ‘भूकम्पले विद्यालय भत्कँदा फर्निचर पुरियो । काम भएका पनि नलाग्ने छन् ।’ हालै युके नामक संस्थाले दुई लाख रुपैयाँमा पाँचकोठे शौचालय निर्माण गरेपछि विद्यार्थी तथा शिक्षकलाई सहज भएको छ ।

१० कक्षासम्म चलेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक कम हुँदा आन्तरिक स्रोतबाटै पारिश्रमिक दिनुपर्ने शिक्षक बढी भएकाले आफूले चिनेका राजधानीस्थित ट्रेकिङ कम्पनीबाट विद्यालय सञ्चालनमा सहयोग गरिदिन चन्दा माग्नुपरेको छ भन्दै प्रअ गुरुङले एक महिनाका लागि एक लाख रुपैयाँ खोज्नुपर्छ, दसैँ आइसक्यो तलब खुवाउन सकेको छैन भन्नुभयो ।

विद्यालयमा टाढाबाट पढ्न आउने विद्यार्थीका लागि छात्रावासको सुविधा थियो । भूकम्पपछि विद्यार्थी टेन्ट तथा त्रिपालले बनाइएको छात्रावासमा बसेका थिए । तर त्रिपाल टाँगिएको बारीमा खेती लगाएपछि अहिले स्थानीयवासीको घर घरमा विद्यार्थी बस्दै आएका छन् । ‘विद्यालयको तर्फबाट विभिन्न निकायमा विद्यार्थीलाई दाल, चामल सहयोग माग गरेको छु’ प्रअ गुरुङले बताउनुभयो । – रासस