४ बैशाख २०८१, मंगलवार
Follow Us

पौडेल समूहको बैठक तीन घण्टा

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७५, सोमबार १३:५५

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सर्ने निश्चित भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक सोमबार बिहान पौडेल निवास बोहराटारमा बसेको छ ।

मंसिर ५ देखि ९ सम्मको महासमिति बैठक स्थगित भएपछि नयाँ मिति तोक्नका लागि मंगलबार केन्द्रीय कार्य समितिको बैठक बस्दैछ। त्यसैको तयारीको लागी संस्थापन पक्षबाहेकका पौडेल समूहका नेताहरु आफ्नो रणनीति तय गर्न तीन घण्टा बैठक बसेका हुन् ।

मंगलबारको बैठकमा आफ्नो समूहको समान धारणा बनाउनका लागि नेताहरु आन्तरिक तयारीमा जुटेको बताइएको छ। बैठकमा पौडेलसहित प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, गगन थापा, नवीन्द्रराज जोशी, अमरसिंह पुन लगायतका नेताहरु सहभागी थिए।

मंगलबार डाकिएको केन्द्रीय समिति बैठक, विधान र नेविसंघका विषयमा छलफल भएको बताइएको छ। नेविसंघको उमेर हद पारित भएसँगै पार्टीमा संस्थापन र पौडेल समूहको दुरी बढेको छ।

साथै, महासमिति बैठक पर धकेलिएपछि नेताहरुका फरकफरक अभिव्यक्ति आएका छन्। संस्थापन पक्षले विधानमाथि छलफलका लागि पर्याप्त समय नहुने कारण देखाएर बैठक सार्नुपरेको तर्क गरेको छ। पौडेल समूहले भने संस्थापन पक्षको नियत नै महासमिति बैठक सार्ने भएको आरोप लगाएको छ।