१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मिर्गौलापीडितलाई बेलायतबाट सहयोग

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७५, सोमबार १४:०९

दमौली । दुवै मिर्गौला बिग्रिएर उपचार गराइरहनुभएका तनहँुको व्यास नगरपालिका–७ छापथोक निवासी २७ वर्षीय सुमन गुरुङलाई बेलायतमा रहेका तनहुँवासीले रु चार लाख ३७ हजार ५५० सहयोग गरेका छन् । जिल्लाको क्यामिन, रिस्ती, सतिस्वाँरा र पुर्कोट घर भई हाल रोजगारीको सिलसिलामा बेलायतमा रहेका तनहुँवासीको संस्था तीन दोभान समाज बेलायतमा आबद्ध सदस्यले मिर्गौलापीडित गुरुङको मिर्गौला प्रत्यारोपणका लागि उक्त रकम सहयोग गरेका हुन् । समाजमा २५० सदस्य आबद्ध छन् ।

समाजका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले आज दमौलीमा गुरुङका आमाबिना गुरुङलाई रकम हस्तान्तरण गर्दै गुरुङको अवस्थाका बारेमा जानकारी पाएलगत्तै समाजका सदस्यसँग रकम सङ्कलन गरिएको बताउनुभयो ।

समाजका सल्लाहकार सुन्दर गुरुङले पीडितको उपचारका लागि थप सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । पीडितका आमा गुरुङले छोराको उपचारका लागि सहयोग जुट्नेक्रम शुरु भएकाले मिर्गौला प्रत्यारोपण हुनेमा विश्वस्त रहेको बताउनुभयो । छोरालाई आफ्नै परिवारका सदस्यमध्येबाट मिर्गौला प्रत्यारोपणका लागि मिर्गौला दिने आमा बिनाले बताउनुभयो । तीन वर्षअघि रोजगारीको सिलसिलामा साउदी पुग्नुभएका गुरुङ दुवै मिर्गौला बिग्रेपछि एक महीनाअघि मात्रै घर फर्किनुभएको थियो ।

साउदीमा रहँदा नै डायलासिस गराउन थाल्नुभएका उहाँले हाल काठमाडौँस्थित ग्रिनसिटी अस्पतालमा डायलासिस गराइरहनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि करीब रु आठ÷नौ लाख लाग्ने चिकित्सकले बताएको गुरुङले जानकारी दिनुभयो ।