८ बैशाख २०८१, शनिबार
Follow Us

गच्छदारलाई उपसभापति बनाउने देउवाकाे तयारी

sarusaru
२० कार्तिक २०७५, मंगलवार ०२:०८

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने तयारी गरेका छन्। सभापति देउवाले मंगलबार (आज) बस्ने केन्द्रीय समिति बैठकबाट नै गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने तयारी गरेका हुन् । बैठकले ५ देखि ९ मंसिरसम्म तोकिएको महासमिति समयभित्र गर्न नसकिने भएपछि नयाँ मितिसमेत तय गर्ने भएको छ ।

स्रोतका अनुसार सभापति देउवाले आइतबार साँझ नै पार्टीका शीर्ष नेतालाई फोन गरेर गच्छदारलाई उपसभापतिमा मनोनीत गर्ने तयारीमा आफू रहेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।

देउवालाई सबैजसो शीर्ष नेताले सहयोग गर्ने आश्वासनसमेत दिएका छन् । तर, विधानमा हाल कायम रहेको व्यवस्थाअनुसार भने गच्छदारलाई उपसभापति बनाउन मिल्दैन । कांग्रेसको हालको विधानमा पार्टीको पदाधिकारी हुनका लागि निर्वाचित केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ ।
तर, गच्छदार विशेष आमन्त्रित केन्द्रीय सदस्य हुन् । उनलाई उपसभापति बनाउँदा सभापति देउवाले शीर्ष नेतालाई बाधा अड्काउ फुकाउ गरेर मात्र बनाइने बताएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्वसहमतिअनुसार पनि नेता गच्छदारलाई व्यवस्थापन गर्ने पक्षमा आफ्नो असहमति नरहने प्रस्ट पारे ।

‘गच्छदारजीलाई एडजस्ट गर्नुपर्छ भन्नेमा सबै सहमत छौं, एउटा समिति बनाएर गर्नुपर्छ भन्ने हो, हेरौं बैठकमा कस्तो प्रस्ताव आउँछ,’ वरिष्ठ नेता पौडेलले भने । गच्छदारनिकट नेता रामजनम चौधरीले मंगलबारको केन्द्रीय समिति बैठकबाट नेता गच्छदारलाई उपसभापति बनाउने सभापतिको तयारी रहेको बताए । ‘गच्छदारजीलाई उपसभापतिमा मनोनीत गर्ने तयारीमा पार्टी सभापति हुनुहुन्छ, मंगलबारको बैठकमै उपसभापति बनाउने आश्वासन आएको छ,’ नेता चौधरीले भने ।

पार्टी एकताका समयमा भएको सहमतिअनुसार सभापति देउवाले नेता गच्छदारलाई उपसभापति बनाउने आश्वासन दिएको उनले बताए । नेता गच्छदार पनि उपसभापतिको आकांक्षी रहँदै आएका छन् । उनी केही दिनयता सभापति, वरिष्ठ नेता तथा शीर्ष नेतासँग लबिइङमा छन् । नेता अर्जुननरसिंह केसीले हालकै विधानअनुसार नेता गच्छदारलाई उपसभापति बनाउन नमिल्ने तर बाधा अड्काउ फुकाएर भने बनाउन सकिने जनाए ।

‘हालकै विधानले त गच्छदारजीलाई उपसभापति बन्न समस्या छ तर विशेष परिस्थितिमा बाधा अड्काउबाट गाँठो फुकाएर बनाउन सकिन्छ, उहाँका विषयमा हामी सकारात्मक छौं,’ नेता केसीले भने । उनले मंगलबारको केन्द्रीय समिति बैठकका विषयमा भने कुनै एजेन्डा आफूलाई प्राप्त नभएको जनाए । तर, समसामयिक विषयमाथि छलफल भनी डाकिएको उनले बताए ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले भने बैठकमा नेता गच्छदारसँगको पार्टी एकता प्रक्रियामा भएको पूर्वसहमतिअनुसार के कसरी समायोजन गर्ने भन्नेबारे बैठकमा छलफल हुने जनाए ।

उनका अनुसार सहमति कार्यान्वयनका लागि बैठकबाट समिति बनाएर अघि बढ्ने संस्थापन पक्षको तयारी छ । पूर्वसहमतिअनुसार गच्छदारको पार्टीबाट आएका १५ जना नेतालाई केन्द्रीय सदस्य बनाउनुपर्छ । तर, सो विषयमा भने समितिमार्फत कार्यदल बनाएर अघि बढ्ने देउवाको तयारी छ ।

सो समितिले गच्छदारसँगको सहमतिअनुसार अरू केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिबारे के कसरी टुंगो लगाउने भन्ने राय दिनेछ । कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग एकता गर्दा २० हजार क्रियाशील सदस्यता दिने सहमति गरेको थियो । गच्छदारले ६३ जिल्लामा रहेको आफ्नो संगठनका लागि ५ सय महाधिवेशन प्रतिनिधिसमेत पाउनुपर्ने बताएका थिए । यस्तै, महासमितिमा पनि ३ सयलाई प्रतिनिधित्व गराउनुपर्ने उनको माग थियो ।

विधान ताक्दै पौडेल–सिटौला समूह
कांग्रेसभित्रको संस्थापनइतर समूह मानिएका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह भने पार्टीको विधानमाथिको बहसमा केन्द्रित भएको छ ।सोमबार नेता पौडेलको निवास बोहोराटारमा भएको सो समूहको बैठकमा महासमितिको बैठक सर्ने भएपछि केन्द्रीय समिति बैठकमा विधानमाथि के कसरी छलफल गर्ने भन्नेतर्फ केन्द्रित भएको थियो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो निवासमा भएको सोमबारको छलफलमा विधानको कामबारे नेताहरूसँग जानकारी लिएको जनाए ।
‘बैठकमा त्यस्तो अरू त केही भएन, विधानको काम के कसरी भइरहेको छ भन्नेबारे जानकारी मागेको हुँ,’ वरिष्ठ नेता पौडेलले भने ।

हाल कांग्रेसभित्र नेताहरूबीच विधानका मूलभूत विषयमा असमझदारी रहँदै आएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेताहरू नयाँ विधानबाट सभापतिलाई बलियो बनाउनेगरी हालको विधानमा भएको भन्दा थप अधिकार राख्ने पक्षमा छन् । संस्थापनइतर पक्ष हालको अधिकारसमेत कटाएर पार्टीका सबै पदाधिकारी निर्वाचन प्रक्रियामार्फत परिपूर्ति गर्नेगरी विधान बनाइनुपर्ने पक्षमा छ ।

यस्तै, निर्वाचन प्रणाली, केन्द्रीय समितिको आकार, पार्टी सदस्यता तथा पदाधिकारी संख्यालगायतका विषयमा समेत विधानमाथि नेताहरूबीच सहमति जुटेको छैन ।

गत २५ असोजका लागि बोलाइएको केन्द्रीय समिति बैठक नेपाल विद्यार्थी संघको विधानमाथिको विवाद भएपछि यो समूह बैठक नै बहिष्कारको निर्णयमा पुगेको थियो भने सभापति देउवाले अन्तिम समयमा बैठक स्थगितसमेत गरेका थिए ।

छलफलमा केन्द्रीय समिति बैठकमा आफ्नो समूहको समान धारणा बनाउनका लागि नेताहरू सहमत भएका छन् । बैठकमा पौडेलसहित नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, गगन थापा, नवीन्द्रराज जोशी, सीतादेवी यादव सहभागी थिए ।
राजधानी दैनिक