जुनु गौतम, गायिका

जुनु गौतम नेपाली सांगीतिक क्षेत्रलाई थप उचाइ दिन भारतबाट नेपाल छिरेकी हुन् । पश्चिम बंगालमा बसोबास गरिरहेकी उनी नेपाली संगीतमा केही दिन सकिन्छ कि भनेर नेपाल आएको बताउँछिन् । आफूलाई संघर्षरत नवकलाकार भन्छिन् उनी । विशेषतः सुगम संगीतमा उनको रुचि छ । चलचित्रका गीत पनि गाउन थालेकी छन् । नेपालको सांगीतिक माहोल, उनको विगत र भविष्यको लक्ष्यबारे कुमार राउतले जुनुसँग गरेको कुराकानी :

० कस्ता गीत गाउन रुचाउनु हुन्छ ?
– सुगम संगीतमा मेरो रुचि हो, आधुनिक र फिल्मका गीत गाउन सुरु गरेकी छु । झमककुमारीको बायोपिक ‘जीवन काँडा कि फूल’ बाट मैले चलचित्रमा गाउन सुरु गरेँ । बंगाली, हिन्दी, त्रिपुरी भाषाका गीत पनि गाएकी छु ।

० बंगाली र हिन्दी गीत गाउने अवसर कसरी पाउनुभयो ?
– बुबा जागिरको सिलसिलामा भारतको मणिपुर, आसाम, सिलोङ र सिलगुढीमा बस्नुभयो । म पनि त्यतै हुर्केकी हुँ, त्यही सिलसिलामा स्थानीय भाषाको गीत गाएकी हुँ ।

० बसोबास अहिले पनि भारत नै हो ?
– बुबा जन्मेको पाँचथरमा, शिक्षण पेसाबाट पेन्सन भएपछि अहिले झापाको धाइजनमा बसोबास गर्नुहुन्छ । मेरो चाहिँ भारतीय नागरिकसँग विवाह भएको हो ।

० जागिर खानुभएन ?
– अंगे्रजी विषयमा स्नातक सकेपछि निजी स्कुलहरूमा पढाएँ, पल्टनमा श्रीमान्सँगै धेरै ठाउँमा हिँड्नुपर्ने भएकाले जागिर स्थायी भएन । मेरो रुचि संगीतमा भएकाले सबै कुरा त्यागेर यही विधामा संघर्ष गरिरहेकी छु ।

० नेपाली गीतसंगीतमा लागेको कति भयो ?
– धेरै भएको छैन, यस्तै दुई वर्ष बित्यो होला ।

० भारतमै धेरै अवसर पाइन्छ होला नि ?
– काँकडभिट्टा छिरेपछि मात्र आफ्नो घर आएजस्तो लाग्छ । मातृभाषाको गीतसंगीतमा केही योगदान दिनसक्छु भनेर नेपाल आएकी हुँ ।

० नेपाली नागरिकता लिन प्रक्रिया पूरा गर्नुपर्ला नि ?
– पर्छ होला, त्यसबारे मलाई खासै जानकारी छैन । तर आमा बुवा, दाजुभाइ सबै नेपालमा भएकाले आफूलाई भारतीय ठान्दिनँ ।

० कोसँग विवाह गर्नुभयो ?
– शशी तामाङ, उहाँ भारतीय सेनामा हुनुहुन्छ । हाम्रो बसोबास सिलगुढीमा हो ।

० पे्रम विवाह गर्नुभएको हो ?
– हो, अलि सानैमा विवाह गरिएछ, घर नजिक थियो, एकै ठाउँ बासोबास भएपछि भेटघाट बाक्लियो, माया बसेछ । अन्ततः हामीले विवाह ग¥यौं ।

० एडजस्ट हुन कठिन भएन ?
– रीतिरिवाज मेल खाँदैन, तौरतरिका बेग्लै भए पनि एडजस्ट हुन खासै कठिन भएन । सानैदेखि जातपातका बारेमा मलाई थाहा भएन । संगीत विधा पनि मैले गजमेरसँग सिकेकी हुँ, गजमेरलाई तल्लो जाति भनिँदो रहेछ भन्ने कुरा मैले धेरैपछि मात्र थाहा पाएकी हुँ । त्यसपछि जातपात भन्ने सोच गलत रहेछ भन्ने निष्कर्ष निकालें ।

० अध्ययन ?
– स्कुल शिक्षा पूरा भएपछि विवाह भयो । बाँकी अध्ययन विवाहपछि पूरा गरेकी हुँ । परिवारको सहयोगले सांगीतिक क्षेत्रमा लाग्न, अध्ययन र सन्तान हुर्काउने काम लगभग सँगैसँगै भयो । यी तीनवटै कामका लागि मेरा श्रीमान् पे्ररणाका स्रोत हुनुहुन्छ ।

० बालबच्चा कति भए ?
– दुई छोरी, एक छोरा छन् । उनीहरू अध्ययन गर्दैछन् । उनीहरूलाई छोडेर म सांगीतिक क्षेत्रमा संघर्ष गर्न काठमाडौं आएँ, श्रीमान् फौजीमा हुनुहुन्छ । बेग्लाबेग्लै बसेको पनि पाँच वर्ष बितेछ ।

० क्वार्टरमै बस्ने सुविधा हुँदैन ?
– क्वार्टरमा बसेर करिअर बन्दैन । नयाँ संरचना बनाउनु छ वा लक्ष्यमा पुग्नु छ भने खुल्ला रूपमा काम गर्न पाउनुपर्छ ।

० पारिवारिक द्वन्द्वले बेग्लै बस्नुभएको होइन ?
– होइन, जीवनको लक्ष्य भेटाउनलाई संघर्ष गर्न काठमाडौं आएकी हुँ । सुगम संगीतमा केही गर्ने अठोट लिएकी छु । लक्ष्य पहिलाएकी छु, संघर्ष जारी छ ।

० के गर्नुहुन्छ नेपाली संगीतमा ?
– नेपाली संगीत विश्वभरि चिनियोस् । मेरो पनि नाम विश्वभरि फैलियोस् भन्ने मेरो लक्ष्य हो ।

० कस्तो पाउनुभयो नेपाली संगीत उद्योग ?
– नयाँ पुस्तामा राम्रा कलाकार भेटिनँ, औंलामा गन्न सकिने मात्र कलाकार रहेछन् । राम्रोभन्दा नराम्रो गीतलाई बढाइचढाई गरिँदो रहेछ ।

० आफूलाई कुन दर्जामा राख्नुहुन्छ ?
– यो त मैले भन्ने कुरा होइन, स्रोता र दर्शकले मूल्यांकन गरेर कुन दर्जामा राख्छन्, त्यो म स्वीकार्छु ।

० कसरी मूल्यांकन हुँदो रहेछ ?
– मूल्यांकनको परिपाटी गलत लाग्यो । युट्युबको भ्युअर्समार्फत मूल्यांकन हुँदो रहेछ । भ्युअर्स बढाउन बुस्टिङ गरिँदो रहेछ । यो गलत परिपाटी हो, अकबरी सुनलाई कसी लगाउनुपर्दैन ।

० तपाईंको गीत युट्युबमा नचलेर यसो भन्नुभएको त होइन ?
– होइन, मैले नेपाली गीतसंगीतको वास्तविकता भनेकी हुँ ।

० कुन चर्चित गीत गाउनुभयो ?
– जीवन काँडा कि फूल चलचित्रमा ‘मैले क लेख्न जाने, मेरो प्रयास सफल भयो’ गीत गाएकी छु । यो चलचित्र आउन बाँकी छ । यो गीत जनजिब्रोमा पुगेर यसैले मेरो परिचय दिन्छ भन्ने आशा गरेकी छु ।

० एल्बम निकाल्नुभएको छैन ?
– केही निस्केका छन्, केही निस्कने क्रममा छन् । ‘मीठो–मीठो प्रित’, ‘बिहानीको घाम’ सार्वजनिक भइसकेको छ । ‘मेरो मनको मान्छे’ एल्बम चाहिँ आउँदैछ ।

० गीत गाइदे भन्छन् कि गीत गाउन देऊ भन्नुहुन्छ ?
– सुरुका दिनमा सित्तैमा पनि गाइयो, अहिले थोरै भए पनि पारिश्रमिक दिन्छन् । कोही गीत गाइसकेपछि म्युजिक भिडियो बनाउनुप¥यो भनेर पैसा माग्नेहरू पनि आउँछन् । सांगीतिक क्षेत्र पनि बिचित्र लाग्यो ।

० एउटा गीत गाएको कति लिनुहुन्छ ?
– मूल्य तोकेका छैन, कलाकारको समस्या बुझेर जति पारिश्रमिक दिन्छन्, त्यो थाप्ने गरेकी छु । नवकलाकार हुँ, जति दिए पनि मन खुम्चाएर बस्नुपरेको छ ।

० कसरी पेट पाल्नु ?
– दुई खालका मान्छे भेटियो, एउटा श्रम शोषण गर्ने, अर्को मर्म बुझ्ने । नवकलाकारले स्टाबलिस हुन संघर्ष गर्नुपर्छ । स्टेज कार्यक्रमबाट राम्रै आम्दानी हुन्छ ।

० सांगीतिक क्षेत्रको भविष्य छ ?
– आशावादी हुन सकिन्छ । गायनले मात्र हुँदैन, संगीत र गीतकारको पनि त्यतिकै भूमिका हुन्छ । सबै मिलेर नेपाली सांगीतिक क्षेत्रलाई नयाँ उचाइ दिन सकिन्छ ।