११ बैशाख २०८१, मंगलवार
Follow Us

कानूनी व्यवसायी श्रेष्ठको निधन

नेपालब्रिटेन डट कम्
२१ कार्तिक २०७५, बुधबार ०७:४८

वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८३ वर्षको उमेरमा आज निधन भएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका श्रेष्ठको आज बिहान ५ः३५ बजे निधन भएको नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिनुभयो ।

तनहँु बन्दीपुरमा जन्मनुभएका श्रेष्ठले भारतको कोलकत्ताबाट कानूनी शिक्षा हासिल गर्नुभएको थियो । सर्वाेच्च अदालत बारको पहिलो अध्यक्षसमेत रहनुभएका श्रेष्ठ नेपाल बार एशोसिएशन र नेपाल कानून समाजको पनि अध्यक्ष हुनुभयो ।

कानूनसम्बन्धी धेरै कृति र लेख प्रकाशन गर्नुभएका श्रेष्ठले पञ्चायत कालमा प्रजातन्त्रको पक्षमा उभिनुभएका बिपी कोइरालालगायत नेताको पक्षमा कानूनी बहस पैरवी गर्नुभएको थियो । नेपालको कानूनी शिक्षा, संवैधानिक विकासका अतिरिक्त अनुशासित र मर्यादित कानून व्यवसायीका रुपमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले बताउनुभयो ।
स्व श्रेष्ठका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । उहाँको पाथिव शरीर भोलि श्रद्धाञ्जलिका लागि दिउँसो १ देखि ४ बजेसम्म नेपाल बारमा राखिने छ भने साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।