१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेकपाभित्र चुलिँदै आन्तरिक किचलो

sarusaru
२५ कार्तिक २०७५, आईतवार ०३:२२

काठमाडौं। पार्टी एकीकरण भएको छ महिना बितिसक्दा समेत सांगठानिक एकता प्रक्रिया टुंगो लाग्न नसक्दा नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक किचलो बढ्दै गएको छ ।

पार्टी एकता घोषणा भएको दिन जेठ ३ गते तीन महिनाभित्र सबै तहको एकता प्रक्रिया टुंगो लगाउने बताइए पनि छ महिना बितिसक्दा समेत एकता प्रक्रियाले गति लिन सकेको छैन ।

४४१ केन्द्रीय समिति, प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवबाहेक अन्य जनसंगठनको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन । पूर्व दुवै पार्टीका सांगठानिक एकता प्रक्रिया एकसाथ टुंगो लगाउने गरी प्रदेशस्तरीय कार्यादल गठन भएको थियो ।
कार्यादलले पार्टीका महासचिव विष्णु पौडेललाई बुझाएको प्रतिवेदनमाथि सचिवालयको बैठकमा छलफल गर्ने क्रममा पार्टीभित्र विवाद शुरु भएको थियो ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अनुकूलका नेताहरुलाई मात्र जिम्मेवारी दिने गरी प्रतिवेदन आएको भन्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका थिए ।

अध्यक्षद्वय ओली र प्रचण्डले एकताको भावना विपरित एकलौटी रुपमा सांगठनिक एकता प्रक्रिया टुंगो लगाउन खोजेको भन्दै शुरु भएको विवादको कारणले गर्दा छ महिना बितिसक्दा समेत एकताले गति लिन सकेको छैन ।

पार्टी एकता भएपछि गठित कार्यालयले बुझाएको प्रतिवेदनमाथि सचिवालयभित्र नै विवाद भएपछि प्रदेशको सांगठानिक एकता र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने गरी सचिवालयको बैठकले महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापाको सदस्य रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो ।

एक साताको म्याद पाएको कार्यदलले अझै प्रतिवेदन बुझाएको छैन । एकताको प्रक्रिया टुंगो लगाउने पटक–पटक सचिवालयको बैठक बसे पनि आन्तरिक किचलोको समस्या समाधान गर्न नै अध्यक्षद्वयलाई बढी समय लागेको बताइएको छ ।

नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले समयमा नै सांगठनिक एकताको प्रक्रिया टुंगो लाग्न नसक्दा अन्योल सिर्जना भएको बताए। उनले भने– ‘पार्टी एकता भएको लामो समय बितिसक्दा समेत जिम्मेवारी पाएका छैनाैँ, एकता हुँदा पैदा भएको उत्साहमा कहिले कमी आएको छ ।’ सचिवालयको बैठकले यसअघि आह्वान गरेको स्थायी समितिको बैठक समेत स्थगित हुँदै आएको छ।

सचिवालयको बैठकले सांगठानिक एकता प्रक्रियाको टुंगो लाग्ने भाका सार्दै आएको छ । एकता प्रक्रियामा अध्यक्षद्वयले पेलेर अगाडि बढन खोजेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्ट नेताहरुको नेतृत्व गर्दै सचिवालयको बैठकमा दबाब सिजना गरिरेका छन्।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन नसक्दा अझ अन्योल थपिएको बताउँदै गैरेले भन्नुभयो– ‘जिम्मेवारीविहीन रुपमा बस्नु पर्दा पार्टीका संगठनहरु चलायमान हुन सकेको छैन ।’

समयमा नै पार्टीले सांगठनिक एकता प्रक्रिया टुंगो लगाउनुपर्ने बताउँदै उनले जति ढिला हुन्छ त्यति नै पार्टीको लागि घाटा रहेको बताए। भदौ पहिलो साता सांगठनिक एकता प्रक्रिया टुंगो लगाउने दाबी नेकपाले गरेको थियो । तर छ महिना बितिसक्दा समेत एकता प्रक्रियाले गति लिन सकेको छैन ।

नेपाल समाचारपत्र दैनिक