१५ चैत्र २०८०, बिहीबार
Follow Us

तीन राप्रपा एकताको ‘च्याप्टर क्लोज’

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७५, सोमबार ०५:३३

काठमाडौं । राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले अन्तिम समयमा अडान फेर्दा राप्रपाका तीन घटकबीचको एकता भाँडिएको छ । आज सोमबार राष्ट्रियसभा गृहबाट एकता घोषणा गर्ने तयारी गरेका कमल थापा नेतृत्वको राप्रपा, राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी) बीचको एकता भाँडिएको हो ।

सहमति भइसकेको विषय माथि नयाँ(नयाँ विषय थपिदै जाँदा लगभग टुङ्गिसकेको राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) बीचको एकता प्रक्रियामा संशय पैदा भएको छ । स्पष्ट हुनुपर्ने हो, ‘राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र चुनाव चिन्ह गाईमा कहिल्यै सम्झौता गर्दैन ।’

राजसंस्था मान्ने र चुनाव चिन्ह महाधिवेशनबाट टुंगो लगाउने समिति भएपनि दुवै विषय अहिले नै टुंगो लगाउनुपर्ने अडानका कारण एकता प्रक्रिया धरापमा परेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)ले गणतन्त्र स्वीकार गरे पनि कमल थापा नेतृत्वको राप्रपा संवैधानिक राजसंस्थाको पक्षमा उभिँदै आएको छ। केही दिनयता तीन पक्षबीच लगातार भएको छलफलमा एकीकृत पार्टीको आधिकारिक लाइन राजसंस्था हुने सहमति भए पनि राणाले दोधारे कुरा गरेको राप्रपाको आरोप छ ।

राणाले आफ्नो पार्टीको चुनाव चिन्ह हलोलाई अहिले नै एकीकृत पार्टीको चिन्हका रुपमा स्वीकार गर्नुपर्ने अडान राखेपछि सोमबारका लागि तय भएको एकतासभा स्थगित गरिएको छ । राप्रपाका एक नेताले तत्कालका लागि पार्टी एकताको ‘च्याप्टर क्लोज’ भएको बताए ।

राप्रपा (प्रजातान्त्रिक) का सहप्रवक्ता किरण गिरीले भने पार्टी एकता टरेको नभई सरेको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘पार्टी एकता स्थगित भएका कारण निरास हुनुपर्ने अबस्था छैन । एकता सरेको मात्र हो, टरेको हैन ।’

२०७३ माघमा एकता घोषणा गरे पनि गत वर्ष भएको चुनाव अघि राप्रपा घटक फेरि विभाजित भएका थिए ।