६ बैशाख २०८१, बिहीबार
Follow Us

लण्डनमा शैलेन्द्र सिंखडाले हँसाए दर्शकहरुलाई

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७५, सोमबार १४:११

लण्डन तिहारको अवसरमा आयोजित एउटा रमाइलो साँझमा चर्चित नेपाली हास्यव्यंग्य कलाकार शैलेन्द्र सिंखडाले बेलायतवासी नेपालीहरुलाई पेट मिचीमिची हँसाएका छन् । शनिबार बेलुका पश्चिम लण्डनको अल्पर्टन स्कुलमा आयोजित एक कार्यक्रमा सिंखडाले समाजका कुरीति र अव्यवस्था उपर कडा व्यंग्य प्रहार गर्दै गणतन्त्र नेपालका विकृतिहरु, नेपालीहरुको अल्छी प्रवृत्ति र एनआरएनहरुको कार्यशैलीको आलोचना पनि गरेका थिए।

झापाको दमकमा तीन वर्ष अघि स्थापना गरिएको रत्न वृद्धाश्रमको सहयोगार्थ सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले वृद्धाश्रमको सहयोगार्थ सो कार्यक्रमको आयोजना गरिएकोमा प्रशंसा गर्दै नेपालका सबै ७७ जिल्लामै त्यस्ता आश्रमहरु स्थापना गर्न आवश्यक रहेको जनाए। उनले नेपाली कला, साहित्यका साथै नेपाली, नेपाली बीचको एकता, सहकार्य, सद्भावना र सहिष्णुतालाई प्रबर्द्धन गर्न शैलेन्द्र सिंखडाजस्ता कलाकारहरुले मानार्थ राजदूतको भूमिका निर्वाह गरिरहेको भन्दै त्यसको प्रशंसा गरे। उनले नेपाली भएर बाँच्न र नेपाली भएरै हाँस्न पनि सुझाव दिए।

नेपालमा सांसदको संख्या भीमसेनको भारीजस्तो भएको भन्दै आफ्नो हास्यव्यंग्य प्रस्तुति शुरु गरेको सिंखडाले “चित्र नेपालले हुन्न भित्र नेपाल चाहियो” भन्दै मन भित्र नेपालको माया अटाउनु पर्ने बताए। बारीको काउली खाए पो बारीको माया लाग्छ, पारीको काउली खाएपछि पारीकै माया लाग्छ, उनले भने। उनले एनआरएनको विशेषता खादा, माला र आसन ग्रहण भन्दै त्यस्तो प्रवृत्तिको उछित्तो काढेका थिए। महाभारतमा भगवान श्रीकृष्ण र अर्जुनबीच संवादको शैलीमा व्यंग्य कविताहरु सुनाउँदै उनले सकारात्मक सन्देशहरु पनि दिएका थिए।

रत्न आश्रम सहयोग समितिु युकेकी सहकोषाध्यक्ष पारिका आलेले अहिले आश्रममा आठजना वृद्धवृद्धाहरुको रेखदेख भैरहेको बताउँदै त्यसको सन्चालनमा सघाउने सबैलाई धन्यवाद दिएकी थिइन् । कार्यक्रममा पारिका आले, रश्मी गौतम, प्रशंसा कँडेल, मिसेज युके नेपाल २०१८ बिनु लामिछाने, रिया लामिछाने लगायतका कलाकारहरुले विभिन्न चर्चित गीतहरुमा रोचक नृत्य प्रस्तुत गरेका थिए। रामशरण सिंखडा, प्रसुना कँडेल र कृष्ण भट्टले सन्चालन गरेकेा कार्यक्रममा बाशु लामिछानेले कार्यक्रम सफल बनाउन सघाउनुहुने डा. भरत सिंखडा, मधुसुदन थापा, समाजसेवी भगवानजी चौहान लगायत सबै सहभागी र कलाकारहरुलाई धन्यवाद दिएका थिए।