१५ चैत्र २०८०, बिहीबार
Follow Us

छठले नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गरोस्ः राष्ट्रपति

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७५, सोमबार १४:४२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकताका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

सूर्य देवता र छठी माताको पूजाराधना गरी हर्षोल्लासपूर्वक मनाइने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास राष्ट्रपतिले आज जारी गर्नुभएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

समृद्ध नेपाल निर्माणमा प्रेरणा देओस्ः उपराष्ट्रपति
यसै अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले ‘अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी मनाइने सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारकै मौलिक र पवित्र पर्व छठले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

उपराष्ट्रपतिले सन्देशमा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वासका साथ मनाइने छठले समृद्ध नेपाल निर्माणको अभियानमा हातमा हात मिलाएर अघि बढ्न सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना गर्नुभएको छ ।
यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छठले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा सामाजिक र पारिवारिक सम्बन्धलाई सुमधुर बनाउने बताउनुभएको छ ।
सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीलाई शुभकामना सन्देश दिँदै छठले एकापसमा एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभएको छ । छठबाट सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप, धार्मिक सहिष्णुता र सहमति कायम गर्दै नेपालको समृद्धिको सपना पूरा गर्न प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दै उहाँले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।