१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनद्धारा मध्यपूर्व संयोजक शर्मालाई तत्काल रिहा गर्न आग्रह

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७५, सोमबार २२:४०

लण्डन । गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके) शर्मा करिब ४ हप्ता देखी कतारको प्रहरीले नियन्त्रणमा राखेको छ । गैरआवासीय नेपाली संघका अनुसार गत अक्टोवर १८ तारिखमा शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिक लगायत कसैको पनि पहुँच र प्रत्यक्ष सम्पर्क भन्दा बाहिर राखेको छ ।

संघको तर्फवाट प्रवक्ता भुषण घिमिरेले सोमवार एक विज्ञप्ति जारी गर्दै गिरफ्तारीको कारण र उनको अवस्थाका बारेमा त्यहाँको सरकारी निकायले आधिकारिक जानकारी गराएको जनाएका छन् ।

विज्ञप्ति अनुसार गिरफ्तार गरिएको तेस्रो परिवारका सदस्यसँग कुरा गर्न दिए पनि कतारमा दशैं अगाडि आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रमको प्रस्तुतिका विषयलाई लिएर गिरफ्तार भएको र सुरक्षित रहेको त्यहाँको प्रहरीले परिवारलाई जानकारी दिएको थियो ।

संघका अनुसार गत अक्टोवर ५ तारिकमा दोहामा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कतार शाखाको आयोजनामा भएको एक साँस्कृतिक कार्यक्रममा रोजगारदाताले नेपाली कामदारलाई दिएको पीडाको विषय समेटिएको गिती नाटकको विषयलाई लिएर उनी सहित कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु राम बाबु बोहरा, रित कुमार श्रेष्ठ र कृष्ण ढकाललाई त्यहाँको सुरक्षा निकायले नियन्त्रणमा लिएको हो ।

संघले उनहरुको तत्काल रिहाइको माग गर्दै कतार स्थित नेपाली दुतावास, परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा उनको अवस्था सार्वजानिक गर्न आग्रह गरेको छ ।
यस्तै संघले शर्माको गिरफ्तारीको विषयमा निराधार र कपोलकल्पित समाचार तथा टिका टिप्पणी नगर्न अनुरोध समेत गरेको छ ।