६ बैशाख २०८१, बिहीबार
Follow Us

किन हटाइए सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७५, मंगलवार १२:४३

काठमाडौं । प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदमुक्त गरेर कृष्ण सुवेदीलाई नयाँ मन्त्री नियुक्त गरेका छन् । उनलाई मंगलबार नै पद तथा गोपनीयताको सपथ गराइएको छ । प्रदेश प्रमुख मोहनराज मल्ल, सभाभुख अर्जुन थापा लगायतको उपस्थितिमा सुवेदीको सपथ ग्रहण भएको हो । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई बर्खास्त गरिएपछि सोही निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित सुवेदी मन्त्री बनेका हुन् ।

आफै सवार गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिएर भाग्न खोजेपछि विवादमा परेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदमुक्त भएका हुन् । प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई पदमुक्त गरेका हुन् । उनलाई पार्टीले फिर्ता बोलाएको मात्र भनिएको थियो । तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहेका उनीमाथि जुवाडे छुटाउन प्रहरीलाई दवाव दिएको आरोपसमेत छ।

कार्तिक २३ गते राति ९ बजे उनी चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसपछि घाइतेलाई उपचार गराउने प्रयासतिर नलागी भाग्न खोज्दा स्थानीयले रोकेका थिए। कैलालीको गौरीगंगा नगरपालिका – ८ बडैपुरामा उक्त घटना भएको थियो।

उनी सवार बा २ झ २१२५ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै गरेको से ३ प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट मोटरसाइकल चालक बडैपुरका स्थानीय २५ वर्षीय सुरेन्द्र चन्द र त्यसमा सवार २२ वर्षीय भरत बोहरा घाइते भएका थिए। दुवैको उपचार जारी छ।