७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपाको सांगठनिक अवस्था भद्रगोल

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७५, मंगलवार १३:०८

काठमाडौं । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गतिविधि झन्–झन् सुस्त हुँदै गएको छ । नेतृत्वले पार्टीका गतिविधि सन्चालनमा खासै चासो नदिएकोजस्तै देखिएको छ भने सिंगो पार्टी र संगठन भद्रगोल छ । यसको असर सरकार सन्चालनमा पनि परेको छ । तर, यो अवस्था तत्काल अन्त्य हुने सम्भावना पनि देखिँदैन ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते भएको पार्टी एकता घोषणासभामा शीर्ष नेताहरुले तीन महिनाभित्र सम्पूर्ण एकता प्रक्रिया टुंगो लगाइसक्ने उद्घोष गरेका थिए । तर, एकता भएको ६ महिना बित्न लाग्दासमेत तल्लो तहमा एकता हुन सकेको छैन । सांगठनिक अवस्था भद्रगोल छ ।

पार्टीको नीति निर्माण गर्ने महत्वूर्ण निकाय स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित छ । अहिलेसम्म स्थायी समिति बैठकमात्र पाँचपटक स्थगित गरिएको छ । विधानअनुसार तीन महिनाभित्र बस्नुपर्ने स्थायी समिति बैठक असार २१ गतेयता बस्न सकेको छैन । प्रदेश सदस्य चयन र केन्द्रीय सदस्यको कार्यविभाजनको प्रस्ताव तयार पार्न कात्तिक ८ गते गठन गरिएको कार्यदलले पनि अझै सहमतिको खाका बनाउन सकेको छैन ।

नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेलले गुट र उपगुटले एकताका थप कामहरु जटिल बनेको बताए । पार्टीको केन्द्रीय सचिवालयमै तल्लो तहसम्मको एकताका लागि नेताहरुबीच विवाद छ । पार्टी भद्रगोल हुँदा सरकारका काममासमेत असर पर्न गएपनि तत्काल सल्टने अवस्था नरहेको टिप्पणी स्थायी समिति सदस्य गजुरेलको छ ।

सम्पूर्ण तहको एकता गरेर पार्टीलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बेला शीर्ष नेताहरु चियापान र भाषणमै सीमित छन् । पार्टीको केन्द्रीय सांगठनिक संरचनामध्ये पोलिट्ब्यूरो गठन हुन सकेको छैन भने ४४१ सदस्यीय केन्द्रीय समिति पनि भूमिकाविहीन छ । प्रदेश पदाधिकारी चयन पनि अझै विवादित छ । जिल्ला, गाउँ तह र जनवर्गीय संगठन अझैपनि पार्टी एकतापूर्वकै अवस्थामा छन् ।