१५ बैशाख २०८१, शनिबार
Follow Us

बेपत्ता पत्रकार खड्का खोज्न हेलिकप्टर परिचालन

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७५, बुधबार ०८:३५

बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बूढीनन्दामा तीन महीना पहिले हराएका पत्रकार तेजबहादुर खड्का (तेजु) को नेपाली सेनाको हेलिकप्टरबाट खोजी कार्य भएको छ ।

गत भदौ ९ गते बूढीनन्दा माताको दर्शन गरेर घर फर्किने क्रममा छाप्रोबाट बरमाग्नेतर्फ जुत्ता–चप्पल लिन गएका पत्रकार खड्काको अवस्था अझै अज्ञात रहेको छ । बेपत्ता भएका पत्रकार खड्काको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर आज बिहान सुर्खेतबाट कोल्टीमा अवतरण गर्दै थप खोजीका लागि स्थानीय नेपाली सेना, नेपाल प्रहरीलाई घटनास्थलमा पु-याएर खोजी कार्य भइरहेको प्रजिअ चेतराज बरालले जानकारी दिनुभयो ।

अज्ञात रहेका खड्काको जिल्ला प्रशासन, पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन र सरोकारवालाहरुको पहलमा हेलिकप्टरबाट खोजी गर्न सम्भव भएको नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य मीनबहादुर बमले बताउनुभयो ।

बेपत्ता भएका खड्काको खोजीका लागि गृह मन्त्रलायले रक्षा मन्त्रालयलाई हेलिकप्टरबाट खोजीका लागि पत्र पठाएर हेलिकप्टर परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । खोजीमा संलग्न भएका टोलीले खाद्यान्नसमेत लिएर गएको बूढीनन्दा रेडियोका प्रबन्धक अनिल शाहीले बताउनु भयो । हेलिकप्टरले स्थानीयवासीलाई घटनास्थल पु-याएर केही संवेदनशील स्थलहरुमा हेलिकप्टरमार्फत खोजी गर्ने बताइएको छ ।

करीब १५ वर्ष रेडियो नेपालको स्थानीय प्रतिनिधि भएर र ६ महीना रेडियो नेपाल सिंहदरबारमा काम गर्दै हाल रेडियो बूढीनन्दामा कार्यरत पत्रकार खड्का बेपत्ता भएको तीन महीना बितिसकेको छ । बेपत्ता खड्काको अवस्था भने अझै अज्ञात रहेको छ ।