७ बैशाख २०८१, शुक्रबार
Follow Us

काङ्ग्रेस बैठक शनिबार, नेविसङ्घको विधान पारित गर्ने

नेपालब्रिटेन संवाददाता
२९ कार्तिक २०७५, बिहीबार १३:१२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते बस्ने तय भएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान पारित गर्ने कार्यसूची रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेविसङ्घको वर्तमान कार्यसमितिको समयावधि गत भदौमा समाप्त भएर तीन महीना थप गरिएको समय पनि आगामी मङ्सिर २ गते सकिँदैछ । दुईवर्षे कार्यकालका लागि सङ्घको ११औँ महाधिवेशन विसं २०७३ भदौ २ गते भएको थियो ।

बैठकले सङ्घको विधान पारित गरी १२औँ महाधिवेशन तय गर्न आवश्यक निर्णय लिने पार्टी कार्यालयले जनाएको छ । यसबाहेक पार्टीको विधान संशोधन मस्यौदा सम्बन्धमा समेत छलफल हुने बताइएको छ । काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीका संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।